सामीकाे ह्याट्रिकमा भारतकाे कठिन जित

उपाधि दावेदार भारतले आईसीसी एकदिवशीय विश्वकपमा प्रतियोगिताकै सबैभन्दा कमजोर टोली अफगानिस्तानमाथि ११ रनको संघर्षपूर्ण जित निकालेको छ । अफगानिस्तानका अन्तिम तीन ब्याट्सम्यानलाई आउट गरी भारतका मोहम्मद सामीले जारी विश्वकपमा पहिलो ह्याट्रिक लिएका छन् ।

साउथह्याम्प्टनमा भारतले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुनुअघि २१३ रन बनायो ।

मोहम्मद नावीले अर्धशतकीय पारी खेल्दै अफगानिस्तानलाई जित नजिक पुर्याइसकेका थिए । अन्तिम ओभरको तेस्रो बलमा मोहम्मद सामीको बलमा क्याचआउट भएपछि अफगानिस्तानको आशा समाप्त भएको थियो ।

अफगानिस्तानले मध्यम सुरुआत गरेको थियो । ओपनर हज्रतुल्लाह जाजाईले १० र गुल्बादिन नइवले २७ रन बनाएर आउट भए । तेस्रो नम्बरका रहमत साहले ३६ र हसमतुल्लाह साहिदीले २१ रन जोडे । अस्घर अफगान ८ रनमै आउट भएपछि छैटौं नम्बरमा आएका नावीले ५५ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए ।

एउटा एण्डबाट नावीले संहालिएको ब्याटिङ गरे पनि अर्को एण्डबाट विकेट झरिरह्यो । नाजिबुल्लाह जदरानले २१ र रशिद खानले १४ रन जोडेर आउट भए ।

भारतका मोहम्मद सामीले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिए । ४९.३ ओभरमा मोहम्मद नावीलाई हार्दिक पण्ड्याको हातबाट क्याच आउट गराएका सामीले त्यसपछिका लगातार दुई बलमा अफ्ताव आलम र मुजिव उर रहमानलाई क्लिन बोल्ड गरे ।

विश्वकप क्रिकेटमा यो दशौं ह्याट्रिक विकेट हो । विश्वकपमा ह्याट्रिक विकेट लिने सामी दोस्रो भारतीय बलर बनेका छन् । सन् १९८७ को विश्वकपमा भारतका चेतन शर्माले न्युजिल्याण्डबिरुद्ध ह्याट्रिक लिएका थिए । सन् २००७ को विश्वकपमा श्रीलंकाका लसिथ मालिंथाले लगातार चार बलमा ४ विकेट लिएर कीर्तिमान बनाएका थिए ।

बलिङमा सामीबाहेक जसप्रित बुमराह, युजवेन्द्र चहल र हार्दिक पण्ड्याले दुई दुई विकेट लिए । बुमराह खेलको म्याच अफ द म्याच चुनिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय २४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको उसले सात रनमा पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा मात्र एक रनमा पेभेलियन फर्किए ।

त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुलबीच ५७ रनको साझेदारी भएको थियो । जसमा राहुलले २० रन बनाए । त्यसपछि विजय शंकरपनि २९ रनमा आउट भएपछि भारतले एक सय २२ रनमा तेस्रो विकेट खेर फाल्यो । भारतको मध्यक्रमका खेलाडीले खासै राम्रो साझेदारी गर्न सकेका थिएनन् ।

उसका लागि कप्तान विराट कोहलीले ६७ रन बनाए भने महेन्द्रसिंह धोनीले २८ रनको योगदान गरे । यस्तै हार्दिक पाण्ड्या सात रनमा आउट भए भने मोहम्मद सामी मात्र एक रनमा बाहिरीए । उसका लागि केदार जादवले अर्धशतकीय पारी खेले । उनले अविजीत ५२ रन बनाए । बलिङमा मोहम्मद नावी र गुलबादिन नइवले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest