इंग्ल्याण्ड टस जितेर बलिङमा

आइसीसी एकदिवसिय विश्वकपमा अहिले इंग्ल्याण्ड र अष्ट्रेलिया विच खेल भइरहेको छ । जसमा इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

क्रिकेटका चिरप्रतिद्धन्द्धी विचको महाभिडन्तका रुपमा रहेको यो खेलमा इंग्ल्याण्ड टिममा कुनै परिवर्तन गरिएको छैन । यसका अर्थ राम्रो लयमा रहेका जोफ्रे आर्चर, मार्क उडको आक्रामक बलिङका अगाडी अष्ट्रेलियाले संघर्ष गर्नुपर्ने हुनसक्छ । यस्तै ब्याटिङमा जेम्स भिन्सलाई फेरी पनि मौका दिइने भएको छ ।

इंग्ल्याण्डले ६ खेलमा ४ जित हासिल गरेको छ । पछिल्लो खेलमा श्रीलंकासँग पराजित हुनु इंग्ल्याण्डको आत्मविश्वासमा ठूलो चोट हो । कमजोर प्रदर्शन गरिरहेको श्रीलंकाले घरेलु टोलीमाथि २० रनको जित आत्मसाथ गरेको थियो । त्यसबाहेक इंग्ल्याण्डले पाकिस्तानसँग पनि पराजय ब्यहोरेको थियो ।

विश्वकपको उपाधिका लागि सबैभन्दा प्रमुख दावेदारको रुपमा रहेको इंग्ल्याण्डले आगामी ३ खेलमा कठिन परीक्षाबाट गुज्रिनुपर्नेछ । त्यसको सुरुआत मंगलबारको अष्ट्रेलियाबिरुद्धको खेल हो । जितको यात्रामा पुनरागमन गर्नका लागि उसले अष्ट्रेलियालाई हराउनुपर्नेछ । इंग्ल्याण्डका लागि अर्को समस्या ओपनर ज्यासन रोयको अनुपस्थिति पनि हो । जो ह्याम्स्ट्रिङको चोटका कारण आराममा छन् ।

अष्ट्रेलियाका लागि पनि सुरुआती ब्याट्सम्यान र बलरहरुको उत्कृष्ट प्रदर्शन सुखद पक्ष हो । उसले ६ मध्ये ५ खेलमा स्पष्ट जित हासिल गरिसकेको छ । मार्कस स्टोनिस चोटमुक्त हुँदै फर्किएपछि अस्ट्रेलिया अझै बलियो बनेको छ । एकदिवशीय क्रिकेटको हेड टू हेडमा इंग्ल्याण्डभन्दा अष्ट्रेलिया अगाडि छ । इंग्ल्याण्डले अहिलेसम्म ६१ खेल जितेको छ भने अष्ट्रेलिया ८१ पल्ट विजयी भएको छ । पाँच पल्टको विश्वविजेता अष्ट्रेलियालाई पहिलो विश्वकप जित्ने अभियानमा रहेको इंग्ल्याण्डले यसपल्ट कडा चुनौति दिन सक्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest