सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्ने लक्ष्यमा न्युजिल्याण्ड

इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वकपमा अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । र, सायद आज पाकिस्तानलाई पराजित गरेको खण्डमा न्युजिल्याण्ड सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्नेछ ।

अर्कोतर्फ सेमिफाइनलमा पुग्ने आशा जीवितै राख्नका लागि पाकिस्तानलाई योमात्र होइन बाँकी सबै खेल जित्नैपर्ने अवस्थामा छ । जित महत्वपूर्ण रहेका यी दुई टोलीको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि म्यान्चेस्टरको ओल्ड ट्राफोट रंगशालामा हुनेछ ।

न्युजिल्याण्ड प्रतियोगितामा अपराजित टोली हो । ६ मध्ये ५ खेलमा जित हासिल गरेको न्युजिल्याण्डले भारतबिरुद्धको खेल वर्षाले रद्ध भएपछि अंक बाँडेको थियो ।

कप्तान केन विलियमनसनको प्रेरणामा न्युजिल्याण्डले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ र विश्वकपको उपाधिमा स्वभाविक दावेदारको रुपमा आफूलाई उभ्याएको छ ।

केन विलियमसनका अलावा रस टेलर, कोलिन डी ग्राण्डहोम, लोकी फर्गुसन, म्याट हेनरी र जेम्स निसमकै प्रदर्शन यसअघिका खेलमा जस्तै पाकिस्तानबिरुद्ध पनि निर्णायक हुनेछ ।

यता ६ खेलमा २ जित हासिल गरेको पाकिस्तानका लागि सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न यो खेल जित्नैपर्नेछ । पाकिस्तान विश्वकपकै सबैभन्दा अनिश्चित टोली हो । यसअघिका प्रदर्शनले यस्तै बताउँछ ।

पहिलो खेलमा वेष्ट इण्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तानले आयोजक इंग्ल्याण्डलाई पराजित गरेको थियो । त्यसयता अस्ट्रेलिया र भारतसँग पराजित भएको छ भने दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

पाकिस्तानका लागि मोहम्मद अमिरले अहिलेसम्म सानदार प्रदर्शन गरिरहेका छन् । ब्याटिङमा उसको एकरुपको प्रदर्शन देखिएको छैन । बलिङमा पनि अमिरबाहेक अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् ।

आफ्नो लक्ष्य पूरा गर्नका लागि पाकिस्तानलाई निश्चित प्रदर्शनको आवश्यकता पर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest