वेष्ट इन्डिज विश्वकपबाट बाहिर

भारतसँग १२५ रनले पराजित भएपछि वेष्ट इण्डिज इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वकप क्रिकेटको समूह चरणबाटै घर फर्किने निश्चित भएको छ ।

२ सय ७० रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट इण्डिजले सुरुआतदेखि नै विकेट बचाउन सकेनन् । कुनै पनि ब्याट्सम्यानले धेरैबेर क्रिजमा टिक्ने सामथ्र्य देखाउन नसक्दा ३४.२ ओभरमा १४३ रनमै अलआउट भयो ।

अफगानिस्तानबिरुद्धको अघिल्लो खेलमा ह्याट्रिक विकेट लिएका मोहम्मद सामी र जरप्रित बुमराहले अर्को एउटा खेलमा सानदार प्रदर्शन गरेपछि भारतले वेष्ट इण्डिजमाथि सानदार जित दर्ता गरेको हो ।

सामीले ६.२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए भने २ विकेट लिएका बुमराहले ६ ओभरमा ९ रनमात्र खर्चिए । ७ ओभरमा ३९ रन खर्चेका स्पिनर युजवेन्द्र चहलले पनि २ विकेट लिए । कुलदीप यादव र हार्दिक पण्ड्याको नाममा एक एक विकेट रह्यो ।

ओपनर क्रिश गेलले १९ बलमा ६ रनमात्र जोड्न सके । अर्का ओपनर सुनील अम्ब्रिसले ३१ रन बनाए । निकोलास पुरनले २८ तथा सिम्रन हेटमायरले १८ रन बनाउनुबाहेक ६ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । नवौं नम्बरमा आएका केमर रोचले १४ र दशौं नम्बरमा ब्याटिङ गरेका कोट्रेलले १० रन थपेका थिए ।

यसअघि म्यानचेस्टरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ६८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको भारतले २९ रनमा पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा १८ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुल विच ६९ रनको साझेदारी भएपछि भारत केहि सम्हालिएको थियो ।

तर राहुल ४८ रनमा आउट भए । त्यसपछि अर्का खेलाडी विजय शंकर ब्यक्तिगत १४ रनमा पेभेलियन फर्किएपछि भारतले एक सय २६ रनमा तेस्रो विकेट खेर फाल्यो ।

भारतले त्यसपछि अरु दुई विकेट कम रनमा नै गुमायो । कप्तान विराट कोहली ब्यक्तिगत ७२ रनमा आउट भए भने केदार जादव मात्र सात रनमा पेभेलियन फर्किए । एक सय ८० रनमा पाँच विकेट गुमाएको भारतका लागि महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्या विच ७० रनको साझेदारी भएपछि भारतले राम्रो चुनौती दिन सफल भयो । हार्दिकले ४६ रन बनाए ।

त्यसपछि क्रिजमा आएका मोहम्मद सामीले खाता खोल्न सकेनन् । जसका कारण भारतले दुई सय ५२ रनमा सात विकेट गुमायो । उसका लागि धोनीले अविजीत ५६ रन बनाए । बलिङमा वेष्ट इन्डिजका केमी रोचले तीन तथा जेसोन होल्डरले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest