नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश

एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह एमा रहेको नेपालले दुवै खेल जित्दै विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपालले शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरमाथि २१७ रनको जित निकाल्न सफल भयो ।

नेपालले दिएको ३२७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १०९रन बनाएर अल आउट भयो । सिंगापुरका तीन खेलाडीले मात्रै दोहोरो अंकको रन बनाउन सके । हरि कुक्रेजाले ३०, कन्नुसामी शतिसले २४ तथा चन्द्रमौली श्रीदेवले २३ रन जोडे । सिंगापुरले अतिरिक्त १५ रन पाएको थियो ।

सिंगापुरलाई सस्तैमा रोक्नका लागि नेपालका कुशल मल्लले ४ र तिलकराज भण्डारीले २ विकेट लिए । कुशलले ९ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिए । तिलकले ५.१ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिएका थिए । रसिद खान र सागर ढकालले पनि एक एक विकेट बाँडे ।

टस जिति पहिला ब्याटिङ गरेको नेपालका लागि रीत गौतमको शतक, खडक बोहारा र कुशल मल्लको अर्धशतकमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । ओपनर रीत गौतमको सानदार शतक र खडग बहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो ।

ओपनर रीत र पवन सर्राफले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । पवन ४५ रनको स्कोरमा आउट भएपछि आएका खडगसँग मिलेर रीतले १३१ रनको शतकीय साझेदारी गरी पारी उकासे ।

४०औं ओभरमा खडग ९० बलमा ९० रन बनाएर आउट भए । शतक बनाउनबाट गर्न चुकेका उनले १२ चौका प्रहार गरे । त्यसपछि आएका विशाल विक्रम केसी र कप्तान रोहित कुमार पौडेलले क्रमसः १ र ७ रनमात्र जोड्न सके । पाँचौं नम्बरमा आएर कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि नेपालले ३०० रनको योगफल पार गरेको हो ।

४७.१ ओभरमा रीतले १३१ बलमा शतक प्रहार गरे । उनले डीप स्क्वायर लेगमा चौका प्रहार गरी शतक बनाएका हुन् । रीतले १३७ बलमा ११५ रनको अविजित शतकीय पारी खेले ।

कुशलले २३ बलमा ५१ रनको विष्फोटक अर्धशतकीय पारी खेले । पारीको अन्तिम ओभरमा सिंगापुरका बलर प्रणव सुदर्शनको बलमा ४ चौका र १ छक्का प्रहार गरी उनले अर्धशतक पूरा गरेका हुन् । बलिङतर्फ सिंगापुरका प्रणव र विनित मेहताले २–२ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest