भारत र न्युजिल्याण्डले पहिलो सेमिफाइनलमा मंगलबार प्रतिस्पर्धा गर्दै

पाँच साताभन्दा लामो उत्साहपूर्ण लिग चरणपछि आईसीसी एकदिवशीय विश्वकप क्रिकेट निर्णायक चरणमा प्रवेश गरेको छ । जसअनुसार भारत र न्युजिल्याण्डले पहिलो सेमिफाइनलमा  प्रतिस्पर्धा गर्दैछन् ।

यो खेल म्यान्चेस्टरको ओल्ड ट्राफोटमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

इन्ज्यूरीका कारण केही समस्या झेल्नुपरे पनि भारतीय टिमले लिग चरणमा आफूले खेलेका ८ मध्ये ७ खेलमा जित निकालेर अकतालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

भारतीय शीर्ष ब्याट्सम्यान रोहित शर्माले जारी विश्वकपमा ५ शतक प्रहार गरी एकै विश्वकपमा सर्बाधिक शतकको कीर्तिमान राखेका छन् । एकै विश्वकपमा सर्बाधिक रन बटुल्ने भारतीय ब्याट्सम्यान सचिन तेन्दुल्करको ६७३ रनको कीर्तिमानबाट उनी मात्र २६ रनले टाढा छन् ।

भारतीय ओपनिङमा रोहितको जोडी लोकेस राहुलले पनि पछिल्ला २ खेलमा क्रमसः ७७ र १११ रन बटुलेका छन् ।

जसप्रित बुमराहको नेतृत्वमा रहेको भारतीय बलिङ आक्रमण पनि उत्तिकै प्रभावशाली छ । बुमराह आफैं एकरुपको बलिङ गरिरहेका छन् । कप्तान विराट कोहलीले सेमिफाइनलजस्तो महत्वपूर्ण खेलका लागि बलरहरुको सन्तुलन मिलाउन प्रयासरत छन् ।

सन् २०१५ को उपविजेता न्युजिल्याण्डले जारी विश्वकपमा मिश्रित प्रदर्शन गरेको छ । बलरहरुको सानदार प्रदर्शन र ब्याटिङमा कप्तान केन विलियमसनको दूरदर्शी नेतृत्वका कारण उसले सुरुआती ६ मध्ये ५ खेलमा जित हासिल गरेको थियो । जसमध्ये भारतसँगको खेल वर्षाका कारण रद्ध भएको थियो ।

तर पछिल्ला ३ खेलमा लगातार पराजयका बाबजुद उसले अंकतालिकाको चौथो स्थानमा रहेर सेमिफाइनल प्रवशे निश्चित गरेको हो । पाकिस्तानसँग समान ११ अंक भएपछि नेट रनरेटमा न्युजिल्याण्डको भाग्य चम्किएको हो ।

न्युजिल्याण्डले बलियो प्रदर्शनको अपेक्षा गर्ने हो भने उसका ओपनर मार्टिन गुप्टिलको लय अत्यावश्यक छ । उनी श्रीलंकाबिरुद्धको पहिलो खेलबाहेक अन्यमा एकरुपको प्रदर्शन गर्न असमर्थ छन् ।

पछिल्ला नतिजा र टिमको सन्तुलनतालाई हेर्ने हो भने भारत यस खेलमा बलियो हुनेछ । तर केन विलियमसनको नेतृत्व नै यस्तो छ कि जित कतिबेला निस्कन्छ, स्वयन् न्युजिल्याण्डका खेलाडीलाई पनि पत्तो हुँदैन ।

म्यान्चेस्टरमा मंगलबार दिनभर बदली हुने पूर्वानुमान छ । सायद वर्षा पनि हुनसक्छ । ओल्ड ट्राफोटमा खेलिएको पछिल्लो पाँचै खेल सुरुआती ब्याटिङ गर्ने टिमले जितेको छ । सायद आज दुवै कप्तान टस जितेर ब्याटिङ रोज्ने योजनामा हुनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest