मलेसिया विरुद्धको सिरीजले बढेको आत्मविश्वास

नेपाली राष्टिय क्रिकेट टिमले दोस्रो पटक टी-२० मान्यता पाएपछि मलेसिया विरुद्धको दुई वटा खेलको सिरीजमा ऐतिहासिक सफलता हात पार्यो । पहिलो पटक टी-२० सिरीजमा क्लिनस्विप गरेको नेपालको यो सफलताले खेलाडीलाई सिंगापुरमा हुने आइसीसी टी-२० विश्वकपको एशिया छनोटका लागि झन आत्मविश्वास बढेको छ ।

एकदिवसिय र टी २० मान्यता पाएपछि नेपालले दोस्रो अन्तराष्ट्रिय टी-२० सिरिज मलेसियासँग खेलेको थियो । यसअघि युएई विरुद्धको सिरीज दुई एकले जितेको नेपालले मलेसिया विरुद्ध भने ऐतिहासिक उपलब्धि हात पार्यो । त्यो हो दुई खेलको सिरीज दुई शुन्यले नै जित्नु । यो नेपाली क्रिकेटका लागि ठुलो उपलब्धि हो ।

हाल नेपाली क्रिकेटमा रहेका उत्कृष्ट १४ खेलाडीलाई समावेश गरेर टिम बनाएको भन्ने प्रशिक्षक उमेश पटवालर र कप्तान पारस खड्काको भनाईलाई खेलाडीले पनि प्रमाणित गरेका छन । नेपाली टिम यसपटक ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट देखियो । तर यसमा मलेसियाको स्तर नेपालको भन्दा तल हुनुपनि एक पक्ष हो ।

यो सिरीजमा ब्यक्तिगत रुपमा पनि खेलाडीले राम्रो प्रदर्शन गरे । चाहे त्यो बलिङमा होस या ब्याटिङमा । पछिल्लो सिरीजमा टिममा नरहेका शरद भेषवाकरले पनि यसपटक दुबै खेलमा जिम्मेवार तरिकाले ब्याटिङ गरे । यसका साथै कप्तान पारस, विनोद भण्डारीले पनि आफ्नो लयलाई देखाए ।

जुन नेपालका लागि सिंगापुरमा हुने प्रतियोगिताका लागि राम्रो संकेत गरेको छ । नेपालले यो सिरीज जितेपछि मुख्य चुनौती सिंगापुरमा हुनेछ । सो प्रतियोगिताको उपाधि जितेमा नेपाल विश्वकप खेल्ने बाटोमा एक कदम नजिक पुग्नेछ ।

नेपाली खेलाडीले जुन किसिमको क्रिकेट मलेसिया विरुद्ध खेले, त्यस्तै खेल सिंगापुरमा देखिएभने नेपालले ग्लोबल छनोटमा स्थान बनाउने पक्का जस्तै छ । विश्वकपको एशिया छनोटमा पनि नेपाल सहभागि टिमहरुमा बलियो देखिएको छ । यसको फाइदा र बेफाइदा दुबै नेपालका लागि छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest