नेपाल र कतार १० बर्षपछि खेल्दै

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा  नेपालले आफ्नो पहिलो खेल मंगलबार खेल्दैछ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समयअनुसार मंगलबार बिहान पौने आठ बजेदेखि सुरु हुने खेलमा नेपालले कतारसँग खेल्नेछ ।

पाँच टोली सम्मिलित प्रतियोगितामा नेपाल उच्च वरियताको टिम हो । त्यसैले स्वभाविक रुपमा उसको दावेदारी उपाधिमै रहेको छ । तर कप्तान पारस खड्काकै भनाइ मान्ने हो भने आफूभन्दा कमजोर टिमसँग खेल्दा आइपर्ने दवावको अनुभव नेपाली टिमले गरेको छ ।

राउन्ड रोविन लिग प्रणालीको आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले युएईमा अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ ।

नेपालले मंगलबार कतार, बुधबार मलेसिया, शनिबार कुवेत र आइतबार घरेलु टोली सिंगापुरबिरुद्ध खेल्दैछ । प्रतियोगिताको पहिलो दिन सोमबार घरेलु टोली सिंगापुर र मलेसियाले आआफ्नो खेलमा जित हासिल गरिसकेका छन् ।

नेपाल र कतारका सिनियर टिमबीच अहिलेसम्म ट्वान्टी–२० फम्र्याटमा २ खेल भएका छन् । सन् २००७ मा भएको एसीसी ट्वान्टी–२० कपमा कतार ३ विकेटले विजयी भएको थियो भने २००९ मा भएको सोही प्रतियोगितामा नेपालले ६ विकेटको जित हासिल गरेको थियो । नेपाल र कतारबीच ट्वान्टी–२० खेल एक दशकपछि हुन लागेको हो ।

वर्तमान अवस्थामा कतारभन्दा नेपाल उच्च बरीयतामा छ । नेपाल ११ औं वरियतामा छ भने कतार २१ वरीयतामा छ । कतारले पहिलो खेलमा सोमबार सिंगापुरसँग ३३ रनले पराजित भएको अवस्थामा नेपाल बिरुद्धको खेल गर या मरको अवस्थामा हुनेछ ।
नेपाल विश्वकप खेलिसकेको टोली पनि हो । सन् २०१४ को विश्वकपमा नेपाल छनोट भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest