पहिलाे अभ्यास खेलमा नेपाल पराजित

एसीसी यू-१९ एसिया कप क्रिकेट खेल्न श्रीलंका पुगेको नेपाली यू-१९ क्रिकेट टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

कोलम्बोमा मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू-२३ टिमसँग ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ४१ रनको लक्ष्य एसएससीले ४२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । नेपालले अन्तिम बलमा क्याच छाडेपछि एसएससीले रोमान्चक जित निकालेको हो  ।

नेपालका लागि पवन सर्राफले ३ विकेट हात पारे । यस्तै कमल सिंह ऐरीले २, सुर्य तामाङ, सगर ढकालले समान १/१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

खराब मौषमका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्दीप जोरा ३३, ओपनर रित गौतमले ३१, पवन सर्राफ ३० रनको योगदान गरे ।

त्यस्तै हरि बहादुर चौहानले अविजित १८ तथा भिम सार्कीले १५ रन जोड्दा कप्तान रोहित कुमार पौडेल ८ र लोकेस बम १ रनमा पेभिलियन फर्किए ।

एसीसी यू-१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest