दक्षिण अफ्रिकासँगको दोस्रो टि ट्वान्टी खेलमा भारत ७ विकेटले विजयी

दक्षिण अफ्रिकासँगको दोस्रो टि ट्वान्टी खेलमा घरेलु टोली भारत ७ विकेटले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । उसका लागि कप्तान तथा विकेटकीपर क्विन्टन डि ककले सर्वाधिक ५२ रनको योगदान दिए ।

तेम्बा बाभुमाले ४९, डेविड मिलर १८ र डवेन प्रिटिरियसले १० रनको योगदान दिए । भारतका लागि दिपक चाहरले २,नवदीप सैनी,रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान १ विकेट लिए ।

१ सय ५० रनको विजयी लक्ष्य पछ्याएको भारतले १९ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतको सहज जितमा कप्तान विराट कोहली ५२ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । योसँगै विराट टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । विराटले रोहित शर्मालाई पछि पार्दै यो कीर्तिमान हात पारेका हुन् ।

त्यस्तै श्रेयस ऐर १६ रनमा अविजित रहे । ओपनर शिखर धवन ४० रनमा क्याच आउट भए । रोहित शर्मा १२ र विकेटकीपर ऋषभ पन्त ४ रनमा आउट हुन पुगे । दक्षिण अफ्रिकाका लागि एन्डिले फेहलुकवेयो,तबरेज शम्सी र ब्योर्न फोर्टुइनले समान १ विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest