नेपालका लागि ऐतिहासिक जित हात पार्ने अवसर

सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरीजमा नेपालले आफ्नो तेस्रो खेलमा भोली जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ । सिंगापुरको इन्डियन एसोसियसन मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ ।

हरेक टिमले एक अर्का विरुद्ध दुई दुई खेल खेल्ने भएकाले नेपालले जिम्बावे विरुद्ध भोली दोस्रो खेल खेल्न लागेको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बावेसँग ५ विकेटको हार ब्यहोरेको थियो । टी–२० मा जिम्बावे विरुद्ध ऐतिहासिक जितको नजिक पुगेर पनि नेपाली टिम चुक्न पुगेको थियो ।

सो खेलको अधिकांश भागमा नेपाल अगाडी रहेपनि अन्तिममा लगातार बाउन्ड्रि खाँदा नेपाल पराजित हुन पुगेको थियो । जितको नजिक पुगेर पनि हारेको नेपाली टिमले भोली भने त्यसको बदला लिनुका साथै जिम्बावे विरुद्ध टी–२० मा पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

जिम्बावेका मुख्य तीन खेलाडी टिममा नरहेका बेला नेपाललाई त्यो अवसर पनि रहेका छ । किनकी जिम्बावे आफ्नो दोस्रो खेलमा सिंगापुरसँग हार्न पुगेको थियो । नेपाल भन्दा अनुभवी टिम भएपनि पछिल्लो पटक जिम्बावे क्रिकेट खस्कदो अवस्थामा छ । आइसीसीको प्रतिबन्धमा उसको क्रिकेट बोर्ड रहेको छ ।

नेपालले सिंगापुलाई नौ विकेटले हराएको थियो भने सिंगापुरले जिम्बावेलाई चार रनले पाखा लगाएको थियो ।

भोलीको खेलमा नेपालले टिममा केहि परिवर्तन गर्न सक्नेछ । विशेष गरि नेपालले ओपनिङमा र बलिङमा चेन्ज गर्ने संभावना रहेको छ । यसअघिका दुई खेलमा मौका पाएका युवा खेलाडी इशान पाण्डे खासै चल्न नसकेपछि भोली उनको स्थानमा अर्को खेलाडीलाई मौका दिनसक्ने संभावना रहेको छ ।

दुबै खेलमा नेपाली टिमले खेलाडी परिवर्तन गरेको थियो । सिंगापुर विरुद्ध कीर्तिमान सतक प्रहार गरेका पारस खड्काको प्रदर्शन सधै झै भोली पनि महत्वपुर्ण हुनेछ । यता जिम्बावे नेपाल विरुद्ध जितको यात्रालाई कायम राख्न चाहन्छ भने सिंगापुर विरुद्ध ब्यहोरेको अप्रत्यासित हारको बदला पनि लिने मनसायमा छ । यदि भोली नेपालले जिम्बावेलाई हराएमा अर्को ऐतिहासिक जित हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest