क्यानको केन्द्रिय कार्यसमितिको बैठक आईतबार

नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय कार्यसमितिको बैठक आईतबारका लागि बोलाईएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले संघमाथिको निलम्बन शसर्त फुकुवा गरेपछि क्यानको कार्यसमिति बैठक पहिलो पटक बस्न लागेको हो ।

केन्द्रिय साधारण सभाबाट असोजको ११ गते नयाँ नेतृत्व चयन भएसंगै आईसीसीले शर्त सहित क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो ।

तर आईसीसीेको शर्त सहितको निलम्बनको आधिकारिक पत्र क्यानले प्राप्त गरिसकेको छैन ।

असोज २७ गतेको आईसीसीको बोर्ड बैठकले करिब तीन बर्षदेखि नेपाल क्रिकेटमाथि लगाएको निलम्बनको कारबाहीलाई फुकुवा गरेको थियो ।

आईसीसीको निलम्बन फुकुवासंगै कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल गर्न बैठक बोलाएका हौ ।’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले खेलपाटीसंग भने, ‘आईसीसीबाट आधिकारिक पत्र प्राप्त भएको छैन । तर पत्र प्राप्त नभएपनि कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल गर्ने एजेण्डा तय छ ।’

शसर्त निलम्बन फुकुवा भनिएपनि आईसीसीले नेपाली क्रिकेटलाई गर्ने सहयोग र काम गर्ने संयन्त्रको बिषयमा खुलाएको छैन ।

आईसीसीको सोही निर्णयलाई क्यानले पर्खिएर बसेको छ ।

‘तीन चार दिनमा पत्र आउने जानकारी पाएका छौ । आईतबारसम्म पत्र प्राप्त हुने विश्वास छ ।’ सचिव प्याकुरेलले भने, ‘पत्र नआएपनि क्रिकेट संघ कसरी अगाडी बढ्ने बिषयमा छलफल हुनेछ ।’

सचिव प्याकुरेलले कप्तान पारस खड्काको राजीनामा बिषय आधिकारिक रुपमा संघलाई जानकारीमा नआएको बताए ।

सोही कारण कार्यसमिति बैठकमा सो बिषयले एजेण्डाको रुपमा प्रवेश पाउने सम्भावना कम रहेको बताए ।

‘कप्तानको राजीनामाको बिषय बाहिरबाट सुनेको हो । पत्र प्राप्त भईसकेको छैन । सोही कारण आधिकारिक रुपमा छलफल गर्ने वा निर्णय गर्ने भन्ने छैन ।’ उनले भने ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest