विराटनगरद्वारा ललितपुरमाथि चार विकेटकाे जित

विराटनगर टाइटनले काठमाडौंमा जारी वमन्स च्याम्पियन्स लिगमा ललितपुर फाल्कोन्सलाई चार विकेटले हराएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय २२ रन बनायो । खराब सुरुवात गरेको ललितपुले चार रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि ४७ रन बनाउँदा उसले ५ विकेट खेर फालेको थियो । उसका माथिल्लो क्रमको ब्याटिङ पुरै ध्वस्त बन्यो । रोशनी बोहोरा नौ रनमा आउट भइन भने सरिता मगरले एक तथा कप्तान नेरी थापाले ४ र सान्ती चौधरीले नौ रनको योगदन गरिन ।

उसका लागि ममता चौधरीले सर्वाधिक २८ रन बनाउँदा करुणा भण्डारी २१ रन जोडीन । अन्तिममा कृती शेन र सम्झना खड्काले राम्रो खेल्दा ललितपुरले मध्यम लक्ष्य दियो । जसमा कृती र सम्झनाले समान १३–१३ रन बनाइन ।

जवाफमा विराटनगरले १६ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । विराटनगरका लागि ज्योती पाण्डेले अर्धसतक बनाइन ।

उनले विराटनगरका तर्फबाट पहिलो विकेटका लागि सोनु खड्कासँग ८३ रनको साझेदारी गर्न सफल भइन । जुन यो प्रतियोगिताको सर्वाधिक ठुलो साझेदारी हो । उनले ४३ बलमा १० चौका र एक छक्काको मद्दतले ६५ रन बनाइन । बलियो सुरुवात गरेपनि विराटनगरले विचमा चार विकेट सस्तैमा गुमायो । लक्ष्मी चौधरी शुन्य रनमा आउट भइन भने कपन सिता मगरले खाता खोल्न सकिनन् ।

यो जितसँगै विराटनगरले पहिलो खेलमा नै दुई अंक जोड्न सफल भएको छ । प्रतियोगिता भोलीपनि दुई खेल हुनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest