गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार

भरतपुर । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले डीपीआर तयार भइसकेकाले अव कामले गति लिने बताएका छन् । ‘यसअघि पनि सामान्य कामहरु भएका थिए, अब डीपीआर नै आइसकेपछि सबै कामहरु व्यवस्थित र दु्रत गतिमा हुनेछन्’, उनले भने ।

तयार भएको डीपीआरबारे एक–दुई दिनमै भरतपुरमा कार्यक्रम गरी जानकारी गराइने उनले बताए । डीपीआर निर्माणको काम नेपाल र भारतका दुई कन्सल्टेन्सीले संयुक्तरुपमा गरेका हुन् । नेपालमा क्रियटिभ र भारतमा हफिस नामका कन्सल्टेन्सीले काम गरेका हुन् । रंगशाला निर्माण अवरोध हुँदा डीपीआरको काम पनि रोकिएको थियो ।

तोकिएको समयभन्दा ३ महिना ढिला गरी डीपीआर तयार भएको उनले बताए । ‘रंगशालाको काममा कुनै अवरोध हुने थिएन भने ३ महिनाअघि डीपीआर हात परेर कामको धेरै प्रगति भइसकेको हुन्थ्यो’, अध्यक्ष धुर्मुसले भने, ‘केही ढिला भए पनि अब पुनः कामले तीव्रता पाउनेछ ।’ निर्माणमा भएको अवरोधका कारण डीपीआर बनाउने परामर्शदाताले इन्जिनियरहरु नै हटाएको र पुनः नयाँ इन्जिनियर नियुक्त गरिएको उनको भनाइ छ ।

अहिले रंगशालको मुख्य भागमा माटो भर्ने र दूबो रोप्ने काम भएको छ । गुरूयोजनासमेत तयार भएकाले अब कुनै पनि काममा अवरोध नहुने उनले बताए ।

चितवन पोस्टबाट साभार

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest