गांगुलीकाे अध्यक्ष भएपछिकाे पहिलाे बाेली

भारतीय क्रिकेट नियन्त्रण बोर्डको हेर्डक्वार्टरको पहिलो तल्लामा रहेको हल धेरै पत्रकार सम्मेलनको साक्षी बसिसकेको छ ।

क्रिकेट प्रशासकहरुको हजारौं पत्रकार सम्मेलन आयोजना गरिसकेको यो हलमा बुधबार नयाँ ब्यक्तिको प्रवेश भयो । मिडिया म्यानेजरले जहिले पनि बोल्ने वक्ताको छोटो परिचय दिन्छन्, विराट कोहली वा महेन्द्र सिंह धोनी नै किन नहुन् ।

तर, क्यामरा रोल हुँदै गर्दा मिडिया म्यानेजरले शुरु गर्न नभ्याउँदै सौरभ गांगुलीले आफ्नो भनाई सुरु गरे । ‘सर्वप्रथम सबैलाई शुभदिन । यदी तपाईहरु तयार हुनुहुन्छ भने म तयार भइसकेँ ।’ समयको महत्व बुझेका गांगुली छिटो र छरितो बनाउन चाहन्थे । कालो फ्रेम भएको चस्मा लगाइरहेका थिए ।

उनलाई भारतीय घरेलु क्रिकेट, प्रशासन, बीसीसीआई र आईसीसीको सम्बन्ध, कोहली र टिमका बारेमा सोधियो । सबैको बारेमा उत्कृष्ट तरिकाले जवाफ दिए । आधिकारिक रुपमा पहिलो पटक पत्रकार सम्मेलनमा सहभागि भएपनि गांगुलीले सबैको जिज्ञासाको जवाफ दिए । उनी पूर्ण रुपमा तयारी गरेर आएका थिए ।

यसअघिका पदाधिकारी जस्तो अँध्यारोमा तीर हान्ने काम गरेनन् । सबैको प्रश्नको सटिक जवाफ दिए । ‘घरेलु क्रिकेट तपाईको प्राथमिकता हो ?’ ‘हो, एपेक्स काउन्सिलले हेर्ने यो प्रमुख विषया हो,’ गांगुलीको जवाफ थियो ।

‘कप्तानीको विषयमा एजेन्डा के छ ?’ ‘यो छनोटकर्ताले गर्ने काम हो,’ उनको छोटो जवाफ ।

उनको उपस्थिती र सोधिएको प्रश्नको जवाफमात्र होइन, पत्रकार सम्मेलनमा उनको ब्यवहार र सहजताका कारण पनि अघिल्ला प्रशाशक भन्दा उनी फरक देखिए ।

मंगलबार पहिलो पटक बीसीसीआईको मुख्यालय पुग्दा पनि उनी सभ्य पोषाकमा उपस्थित थिए । सिईओ राहुल जोहरी र बोर्ड सदस्यसँग भेट गर्न जाँदा उनी कारमा ड्राइभरसँगैको सिटमा बसेका थिए । गाडीबाट निस्किँदा उनले ल्यापटप ब्याग दाइने काँधमा झुण्ड्याएका थिए ।

बुधबार पनि त्यही ब्याग बोकेर पत्रकार सम्मेलनमा उपस्थित थिए । उनको गाडीको ढोका खोल्ने कोही थिएनन् । उनी फर्मल टि–सर्ट, ट्राउजर र नीलो ब्लेजर लगाएका थिए, जसको अगाडीको खल्तीमा बीसीसीआईको लोगो अंकित थियो । ‘म भारत टिमको कप्तान हुँदा यो पाएको थिए, त्यसैले लगाउने निर्णय गरेँ ।

नराम्रो त देखिएन नी ?,’ हल्का मजाक पनि गर्न भ्याए । बीसीसीआईको मुख्यालयबाट फर्किने समयमा उनी बस्ने होटलको छतमा गएर फोटो खिचाए, जहाँबाट अरेवियन समुद्र, वाङ्खडे स्टेडियमको फ्लडलाईट देखिन्छ । अबको १० महिनाका लागि मुम्बई उनको दोस्रो घर हुनेछ, जुन सहरसँग उनको आत्मियता प्रगाढ छ ।

‘म यहाँ आउँदा युवा अवस्थामा थिए । यहाँ मैले भारतीय टिमका लागि बनाएको पहिलो शतक अझै पनि याद छ ।’ वाङ्खडे स्टेडियममा भएको यू–१९ म्याचमा उनले पाकिस्तानविरुद्ध शतक प्रहार गरेका थिए । त्यही शतक उनको करियरको टर्निङ पोइन्ट थियो । त्यसपछि उनले रणजी ट्रफीका लागि टिममा स्थान बनाएका थिए । त्यहाँ उनले पहिलो टेस्ट शतक पनि बनाए भने दुई वटा टेस्टमा जित पनि हात पारे ।

आईपीएलमा पनि यही मैदानमा उनले दिल्ली क्यापिटल्सलाई हराएका थिए । ‘यो मैदानले मलाई कहिले पनि कमजोर बन्न दिएको छैन । आशा गरौं नयाँ भुमिकालाई पनि यो ठाउँले सहयोग गर्नेछ । जसले गर्दा भारतीय क्रिकेटलाई अझ बलियो बनाउन सकुँ ।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest