नेपालले माल्दिभ्सलाई ८४ रनले हरायाे

साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । यो जितले नेपाललाई फाइनल पुग्ने संभावना कायमै राखेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६३ रन बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । यस्तै विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९–१९ रनको योगदान गरे । आरिफ शेखले १७ रन बनाउँदा रोहित पौडेलले १० रन थपे । यस्तै पारस खड्काले ११ रन बनाए ।

नेपालले सुरुवात आज खराव गर्यो । १५ रनमा पहिलो विकेट गुमाएको नेपालले ४२ रनमा दोस्रो तथा ४८ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि अरु २७ रन स्कोरबोर्डमा जोड्दा नेपालले थप दुई विकेट खेर फाल्यो । ७५ रनमा पाँच विकेट गुमाएको नेपालले एक सय ३० रन बनाउँदा सात विकेट झार्यो ।

जवाफमा माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ७९ रन बनायो । माल्दिभ्सका चार खेलाडीले दोहोरो अंक जोडे । जसमा मोहमेद अजामले सर्वाधिक १६ रन बनाए भने मोहमेद रिसवानले १३ रन बनाए ।

यस्तै अली इभान र इब्राहिम हसनले समान ११–११ रन बनाए । यो जितसँगै नेपालको तीन खेलमा चार अंक भएको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । सो खेलले नेपालका लागि स्वर्णका लागि खेल्ने नखेल्ने भन्ने तय गराउनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest