वेस्ट इण्डिजविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा घरेल टोली भारतले ३८८ रनको विशाल लक्ष्य दिएको छ । भारतका लागि रोहित शर्माले १५९ तथा केएल राहुलले १०२ रनको शतकीय पारि खेल्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८७ रन बनाएका थिए । वेस्टइण्डिजका कप्तान किरोन पोलार्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए ।
उनको टिममा सुनील अम्ब्रिस र हेडन वाल्सको ठाउँमा एविन लुईस र खेरी पिएरेलाई मौका दिइएको थियो । आजको खेलमा शिबम दुबेको ठाउँमा शार्दुल ठाकुरलाई स्थान दिइएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले उत्कृष्ट शुरुआत गरेको थियो । पहिलो विकेटका लागि रोहित शर्मा र केएल राहुलले ३७ ओभरमा २२६ रनको साझेदारी गरेका थिए ।
रोहितले १०७ बलमा २८ औं एकदिवसीय शतक बनाए । राहुलले १०२ बलमा तेस्रो शतक प्रहार गरे । ३७ औं ओभरमा राहुल आउट भए लगत्तै ३८ औं ओभरमा २३२ रन हुँदा कप्तान विराट कोहली खाता नै नखोली आउट भए ।
ओपनिङ आएका रोहितले श्रेयस अय्यरसँग् मिलेर तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । रोहितले १३८ बलमा १७ चौका र ५ छक्काको मद्दतले १५९ रन बनाए । रोहित आउट भएपछि अय्यरले ऋषभ पन्तसँग मिलेर चौथो विकेटका लागि ७३ रनको साझेदारी गर्दै टिमको स्कोर ३५० कटाएका थिए । पन्त चार चौका र तीन छक्काको मद्दतले १६ बलमा ३९ रन बनाउँदै आउट भए ।
अय्यरले ३२ बलमा ५३ रनको योगदान गर्दै लगातार चौथो एक दिवसीय क्रिकेटमा अर्धशतक बनाए । भारतले अन्तिम १० ओभरमा १२७ रन बनाएको थियो । केदार जाधव १६ तथा रविन्द्र जडेजा खाता नै नखोली नट आउट रहे ।
वेस्ट इण्डिजका लागि शेल्डन कटरेलले २ तथा किमो पल, अल्जारी जोसेफ र किरोन पोलार्डले एक एक विकेट लिए ।
Discussion about this post