बिराटनगरले टस जितेर पहिले बलिङमा

पोखरा प्रिमियर लिगको उपाधिका लागि अहिले चितवन राइनोज र बिराटनगर टाइटन्स विच प्रतिस्पर्धा भइरहेको छ । पोखरा क्रिकेट मैदानमा बिराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली शनिबार फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा हुनेछन् । चितवनले जारी प्रतियोगितामा शत प्रतिशत नतिजाका साथ फाइनलमा स्थान बनाएको हो भने विराटनगरले प्लेअफमा पुग्न एलिमिनेटर राउण्ड पार गर्नु परेको थियो ।

नेट रनरेटमा काठमाडौँभन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । लिग चरणका पाँच खेलमध्ये तीन खेलमा विराटनगर पराजित भएको थियो भने दुई खेलमा जित हासिल गर्न सफल भयो । तर पछिल्ला दुई खेलमा भने विराटनगरले राम्रो प्रदर्शन गरेको थियो ।

समूह चरणको ११ औं खेलमा चितवन र विराटनगर भिड्दा बाजी भने चितवनले मारेको थियो । उक्त खेलमा विराटनगर १८ रनले पराजित हुन पुगेको थियो । टस हारेर पहिला ब्याटिङ गरेको चितवनले आरिफ शेखको नट आउट ३९ र कप्तान पारस खड्काको ३५ तथा बाबर हायातको २५ रनको मद्दतले निर्धारित ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो । चितवनका लागि सन्नी पटेलले ८ बलमा २५ रनको सनसनी पूर्ण पारि खेलेका थिए ।

तर १४७ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा अल आउट हुँदै १२८ रनमा समेटिन पुग्यो । आजको खेलमा विराटनगरलाई पारस, आरिफ, बाबर र हार्ड हिटर सन्नी पटेललाई रोक्नु पर्ने छ । त्यसका लागि एलिमिनेटर राउण्डमा पुनित मेहरा र सहाव आलमले गरेको घातक बलिङलाई निरन्तरता दिनु पर्ने छ ।

समूह चरणमा १८ रनको जित निकाले पनि पछिल्ला दुई खेलमा विराटनगरले गरेको प्रदर्शनलाई नियालि रहेको चितवनले त्यसै अनुसारको रणनीति बनाउनु पर्ने छ । त्यसका लागि चितवनले विराटनगरका कप्तान प्रदीप ऐरी, सुनिल धमला, पुनित मेहरा र मोहम्मद जाइद आलमलाई रोक्नका लागि तयार रहनु पर्ने छ ।

पोखरा रङ्गशालामा शुक्रबार फाइनल खेल अघिको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले आफ्नो तर्फबाट गल्ती कम गर्दै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताइसकेका छन् ।

चितवनका कप्तान पारस खड्काले पाँच खेलमा हासिल गरेको सफलतालाई फाइनलमा समेत निरन्तरता दिने गरी स्पर्धामा उत्रिने लक्ष्य रहेको बताएका थिए । ‘फाइनललाई सहज रुपमा लिएका छैनौँ, विगतमा के भयो कस्तो रिजल्ट आयोभन्दा पनि भोलि कसरी राम्रो गर्न सक्छौँ भन्नेमा हामी केन्द्रित छौँ ।’ खड्काले भनेका थिए । दुवै टोलीले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको तथा एक-अर्कालाई हराउन सक्षम रहेकाले खेल प्रतिस्पर्धात्मक हुने खड्काले उल्लेख गरे ।

विराटनगरका कप्तान प्रदीप ऐरीले फाइनल खेल्ने टोली बलियो रहेको तथा आफ्नो टोलीले पछिल्ला खेलमा सुधार गरिरहेकाले मैदानमा गल्ती कम गर्दै उपाधि जित्ने गरी खेल्ने बताए ।

फ्रेञ्चाइज लिगको पहिलो फाइनल खेल्दै गरेकाले टोलीका सम्पूर्ण खेलाडी उत्साहित रहेको बताउँदै उनले भने ‘मेरो कप्तानीमा पहिलो पटक फाइनल खेल्दा उत्साहित छु । गल्ती कम गर्दै उपाधि जित्ने गरी खेल्नेछौँ ।’

मंसिर २९ गतेदेखि शुरु भएको प्रतियोगिताको विजेताले २७ लाख तथा उपविजेताले १० लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी, ब्याट्सम्यान तथा बलर गरी तीन जनालाई जनही एक-एक थान टीभीएस मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिताको ‘मोस्ट भ्यालुयबल’ खेलाडीलाई एक लाख तथा ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

चितवन र विराटनगरसहित साविक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए । पीपीएलको पहिलो संस्करणको उपाधि भने पोखरा पल्टनले जितेको थियो । तर यस पटक पोखरा पल्टन समूह चरणमा एक खेल मात्रै जित्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest