क्यानकाे बाेर्ड बैठकले गरेका निर्णयहरू यस्ता

आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि नेपाली क्रिकेट टिमको तयारी २५ गतेबाट पोखरामा हुने भएको छ । क्यानको बोर्ड बैठकले पोखरा क्रिकेट मैदानमा त्रिकोणात्मक सिरीजको तयारी गर्ने निर्णय गरेको छ ।

यसपटकको क्याम्पमा क्यानले २४ जनालाई पहिलो चरणमा क्याम्पमा बोलाउने भएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पोखरामा गरिने क्याम्पका लागि क्यानले नै खेलाडी छनोट गर्ने बताए । ब्यक्तिगत कामका लागि प्रशिक्षक उमेश पटवाल हाल बाहिर रहेको र २४ गते उनी नेपाल पुग्ने भएकाले २५ गतेबाट क्याम्प सुरु गर्ने भएको हो । यसका साथै हाल जारी एम एम कपमा पनि खेलाडी ब्यस्त रहेकाले उनीहरुको प्रशिक्षण पर धकेलिएको हो ।

क्यानको बोर्ड बैठकले खेलाडीको सेन्ट्रल कन्ट्याक्टमा पनि हेरफेर गर्ने भएको छ । क्यानमा नयाँ कार्यसमिती आएपछि खेलाडीको केन्द्रिय सम्झौतामा परिमार्जन गर्ने एजेन्डा पनि थियो । जसमा अहिले तीन बर्गमा खेलाडीलाई विभाजन गरेर २४ जना खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखिने भएको छ ।

यस्तै बैठकमा क्यानको बार्षिक क्यालेन्डरमा पनि सामान्य छलफल भएको थियो । प्रतियोगिता समितीका संयोजक प्रशान्त मल्लले क्यानको प्रतियोगिताको क्यालेन्डर बैठकमा राखेको थिए । जसलाई राय दिएर पारित गर्न बैठकले निर्णय गरेको छ । बैठकमा कार्य सम्पादन समिती गठनका बारेमा पनि चर्चा भएको थियो । यसका साथै संघको सिटी कार्यालयको ब्यवस्थापनमा पनि चर्चा भएको थियो ।

राष्ट्रिय क्रिकेट टिमको ड्रेसको ब्यवस्थाका लागि टी १० संग सम्झौता गरिने निर्णय भएको छ । यस्तै कीर्तिपुर खेलमैदानको भाडा भुक्तानी सम्बन्धमा पनि छलफल भएको थियो ।

पाेखरामा हुने प्रशिक्षणका बेला नेपाली क्रिकेट टिमले मलेसिया ११ सँग २ एकदिवसीय र २ टी-२० खेल खेल्ने कार्यक्रम रहेकाे छ ।

नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृंखला फेब्रुअरी ५ देखि १२ तारिखसम्म हुँदै छ । जसमा पहिलाे खेल नेपालले ५ तारिखमा ओमानसँग खेल्नेछ ।

याे प्रतियाेगिताका लागि क्यानले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलसँग बजेट माग गरिसकेकाे छ । जसमा क्यानले ८५ हजार अमेरीकी डलर बजेट पेश गरेकाे छ ।

<strong>बिश्वकप लिग टु नेपाल सिरिजको तालिका</strong>

माघ २२ नेपाल बिरूद्ध ओमान

माघ २३ ओमन बिरूद्ध अमेरिका

माघ २५ नेपाल बिरूद्ध अमेरिका

माघ २६ नेपाल बिरूद्ध ओमान

माघ २८ अमेरिका बिरूद्ध ओमान

माघ २९ नेपाल बिरूद्ध अमेरिका

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest