मलेसिया ११ बिरूद्ध सुदुरपश्चिम ८ विकेटले बिजयी

मनमोहन (एमएम) कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशका लागि बलिङमा शेर मल्ल र विनोद लामाले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया सिलेक्सन ११ लाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियाका लागि विरेनदीप सिंहले सर्वाधिक २२ रन जोड्दा अरु कसैले पनि दोहोरो अंकमा रन बनाएनन् ।  सुनसरीको इनरुवामा जारी प्रतियोगिता अन्तर्गत आज भएको खेलमा पहिला ब्याटिङ गर्दै मलेसिया सिलेक्सन ११ ले २२ ओभरमा सवै विकेट गुमाउँदै ४९ रनको झिनो योगफल तयार पारेको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियन टिमले ५ रन हुँदा पहिलो विकेट गुमायो । उसका भुषण सेभ ४ रनमा आउट भएका थिए । पहिलो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको मलेसियन टिमले दोस्रो ओभरको पहिलो बलमै दोस्रो विकेट खेल फाल्यो । उसका कप्तान अहमद फइज १ रन बनाए आउट भए ।

त्यसपछि क्रिजमा आएको विरेनदीप सिंह भने टिक्न निकै कोसिस गरे । उनी अन्तिम विकेटको रुपमा २२ रन बनाएर आउट भएका थिए । इनोल हकिम, सइद अजिज र मोहम्मद आरिफ तीन जना खेलाडीले खाता नै नखोली पेभेलियन फर्किएका थिए । त्यसपछि क्रिजमा आएका देवेन्द्रन मोगनले बनाएको ५ रन मलेसियन टिमका लागि बनाएको दोस्रो ठूलो स्कोर हो । नाज्रिल रहमन १ रन बनाएर आउट हुँदा अनवर रहमानले ३ रनको योगदान गरे । पवनदीप सिंह खाता नै नखोली नट आउट रहँदा २१ औं ओभरको अन्तिम बलमा विरेनदीप सिंह सर्वाधिक २२ रन बनाएर आउट भए । २२ रन बनाउँदा उनले ६९ बलमा ३ चौका प्रहार गरेका थिए ।

५० रनको सामान्य लक्ष्य सुदूरपश्चिम टिमले ७‍. २ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । पहिलो विकेट १७ रन हुँदा गुमाएको सुदूरपश्चिमले दोस्रो विकेट ३५ रनमा खेर फालेको थियो ।

१७ रन हुँदा सुदूरपश्चिममा गजेन्द्र बोहोरा ब्यक्तिगत ११ रनमा आउट भएका थिए । १८ बल फेस गरेका बोहोराले २ चौका प्रहार गरे ।
तेस्रो नम्बरमा आएका अरुण ऐरी पनि धेरै रन भने जोड्न असफल रहे ।

उनी व्यक्तिगत ६ रन बनाएर आउट हुँदा टिमको स्कोर २ विकेटको नोक्सानीमा ३५ रन रहेको थियो । त्यसपछि ओपनिङ आएका खडक बोहोरा र लोकेश बमले टिमलाई जिताए । खडक र लोकेश दुवै जना १५–१५ रनमा नटआउट रहे । मलेसियन टिमका लागि पवनदीप सिंह र अनवर रहमानले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest