एमएम कप क्रिकेटकाे उपाधि आर्मीकाे पाेल्टामा

मनमोहन स्मृती एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले जितेको छ । फाइनलमा पुलिसलाइ ८५ रनले हराउँदै आर्मीले उपाधि जितेको हो । यसका साथै आर्मीले गत सिजनको फाइनलमा ब्यहोरेको हारको बदला पनि लिएको छ ।

सुनसरीको इनरुवामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी ४८ ओभर पाँच बलमा एक सय ८४ रनमा अलआउट भयो ।

सुरुवात राम्रो गर्न नसकेको आर्मीले ५३ रन बनाउदा चार विकेट गुमाएको थियो । उसका ओपनर अनिल मण्डल पाँच रनमा आउट भए भने राजु रिजालले २२ रन बनाए । यस्तै रोहितकुमार पोडेल ११ रनमा पेभेलियन फर्किदा भिम शार्की सात रनमा आउट भए ।

उसका मध्यक्रमका खेलाडी विच खासै राम्रो साझेदारी हुन सकेन । कुशल मल्ल १३ रनमा आउट हुँदा आर्मीले ७७ रनमा पाँच विकेट खेर फाल्यो । त्यसपछि हरी चौहान मात्र तीन रनमा आउट हुदाँ आर्मीको स्कोर ९५ रनमा ६ विकेट थियो ।

आर्मीका राजेश पुलामी मगरले ३१ रन बनाए । अन्तिमतिर विनोद भण्डारीले ४० तथा विक्रम सोबले १५ रनको योगदान गरे ।  बलिङमा दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी र सागर ढकालले तीन तीन विकेट लिए ।

जवाफमा पुलिस क्लव २४ ओभर चार बलमा मात्र ९९ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा अमित श्रेष्ठले २३ तथा अनिल शाहले २१ रन बनाए ।

यस्तै कुशल भुर्तेलले ३१ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । पुलिसलाई कम स्कोरमा रोक्न सुसन भारीले चार तथा साहब आलमले तीन र कुशल मल्लले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest