अमेरिकालाई ३५ रनले हराउँदै नेपाललाई पहिलो अंक

आईसीसी विश्वकप लिग २ मा नेपालले पहिलो जित हात पारेको छ । पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपालले आज भएको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित ग¥यो ।

१९१ रनको लक्ष्य पछ्याएको अमेरिकालाई १५५ रनमा अलआउट गरेको थियो । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले इनिङ समाप्तिको चार बलअघि अलआउट हुँदै १९० रन बनाएको थियो ।

खराब सुरुवात गरेको नेपालको इनिङमा कुशल मल्ल र विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे । पाँच विकेट जाँदा ४९ रनको धरासायी अवस्थामा रहेको नेपालका लागि विनोद र कुशलले ८४ रनको साझेदारी गरेका थिए ।

त्यसअघि ओपनर सुवाष खकुरेल तीन रन, ज्ञानेन्द्र मल्लले २१ रन, पारस खड्काले १९ रनको योगदान दिए । त्यसपछि दिपेन्द्र सिंह ऐरी डकआउट हुँदा आरिफ शेखले पनि दुई रनभन्दा बढीको योगदान दिन सकेनन् ।

त्यसपछि कुशल मल्लले ५१ बलमा ५० रनको अर्धशतकीय योगदान दिए । उनी एक दिवशीय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड समेत बनाउन सफल भए ।

त्यसपछि करण केसी १२ रन र सन्दिप लामिछाने खाता खोल्न नपाउँदै आउट भएका थिए । विनोदले ७९ बलमा ५९ रनको योगदान दिएर रस्टी थेरनको बलमा अक्षय होमराजबाट क्याच आउट भए । सुशन भारीले ११ रन बनाए ।

बलिङतर्फ क्यामरुन स्टेभेन्सनले तीन विकेट लिँदा रस्टी थेरन र सौरभ नेत्राभाल्करले दुई दुई विकेट लिए ।

१९१ रनको लक्ष्य पछ्याएको अमेरिका सुरुमै दबाबमा परेको थियो । १७ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर ५० रन बनाएको अमेरिकाका लागि इयान होल्याण्डले उत्कृष्ट ब्याटिङ गरे । उनले एक सय ११ बलमा ७५ रनको योगदान दिँदै अमेरिकालाई जितको नजिक पु¥याएका थिए । तर, करण केसीले ४१औं ओभरको चौथो बलमा उनलाई विकेट किपर विनोद भण्डारीबाट क्याच आउट गराएपनि नेपालले जितको आधार बनाएको थियो ।

यसअघि दोस्रो ओभरमै सन्दिप लामिछानले आरोन जोन्सलाई एलबीडब्ल्यूको धरापमा पारे । तेस्रो ओभरमा स्टेभेन टेलरलाई करण केसीले दिपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए । त्यसपछि ओपनर जेभियर मार्सललाई पनि करण केसीले विनोद भण्डारीबाट क्याचआउट गराए ।

चौथो ओभरमा मोनाक पटेललाई सन्दिप लामिछानेले एलबीडब्ल्यू आउट गराए । अर्का भरपदा ब्याट्सम्यान अक्षय होमराजलाई सुशन भारीले आउट गरे भने करिम गोरेलाई पनि भारीले पारस खड्काबाट क्याचआउट गराए ।

त्यसपछि कुशल मल्लले इल्मोर हुचिन्सनलाई बोल्ड गरेका थिए । क्रिजमा इयान होल्याण्ड जमिरहेका थिए । नेपालको जितमा उनी बाधक देखिएको अवस्थामा करण केसीले उनको विकेट लिएका थिए ।

नेपालको जितमा करण केसीले चार विकेट लिए भने सुशन भारीले तीन तथा सन्दिप लामिछानेले दुई र कुशल मल्लले एक विकेट लिए ।

अमेरिकाका लागि होल्याण्डबाहेक कुनै पनि खेलाडीले २० रन कटाउन सकेनन् । त्यसमध्ये आठ जना खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest