अष्ट्रेलिया महिला टी २० विश्वकपको सेमिफाइनलमा

अष्ट्रेलिया आइसीसी महिला टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा न्युजिल्याण्डलाई चार रनले हरायो ।

मेलबर्नमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो ।

उसका लागि बेथ मोनेले ६० रन बनाइन भने मेघ लानिङ र एलिसी पेरीले समान २१–२१ रन बनाए । यस्तै एस्लेइघ गार्डनेरले २० रनको योगदान गरिन । बलिङमा न्युजिल्याण्डकी एना पिटरर्सनले दुई विकेट लिइन ।

जवाफमा न्युजिल्याण्ड २० ओभरमा सात विकेट गुमाउँदा एक सय ५१ रनमा रोकियो । उसका लागि केटी मार्टिनले ३७, सोफी डिभाइनले ३१ तथा मेडी ग्रिनले २८ रन बनाइन ।

तर उसका पुछारका खेलाडीले राम्रो खेल्न नसक्दा पराजित भयो । अन्तिम ओभरमा न्युजिल्याण्डलाई जितका लागि २० रन चाहिएको थियो । तर १५ रनमात्र जोड्न सक्यो ।

यो हारपछि न्युजिल्याण्ड समुह चरणमा नै रोकिएको छ । योसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ । समुह ए बाट भारत र अष्ट्रेलिया तथा समुह बी बाट दक्षिण अफ्रिका र इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest