पाकिस्तानकाे सिरीज इंग्ल्यान्डकाे पाेल्टामा

इंग्ल्यान्ड र पाकिस्तानबीचकाे अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा सकिएकाे छ । जसका कारण इ‌ग्ल्याण्डले तीन टेष्टकाे सिरीज एक शुन्यले जितेकाे छ । साउथह्याम्पटनको द रोज बलमा भएकाे टेस्टको अन्तिम दिन दोस्रो इनिङ्समा पाकिस्तानले ४ विकेट गुमाएर १ सय ८७ रन बनाएपछि बराबरीमा सकिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डले उच्च स्कोर बनाएको थियो ।

क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा क्रोलीको यो पहिलो दोहोरो शतक हो ।

यस्तै जोस बट्लरले १ सय ५२ रनको शतकीय इनिङ्स खेलेका थिए । त्यसबाहेक इंग्ल्यान्डका क्रिस वोक्सले ४० रन जोड्दा डम बेस २७ रनमा अविजित रहे । कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए ।

पाकिस्तानका यासिर शाह, शहिन अफ्रिदी र फावद आलमले २/२ विकेट लिएका थिए ।

पहिलो इनिङ्समा २ सय ७३ रन जोड्दा अल आउट भएपछि पाकिस्तान फलो अनमा परेको थियो ।

अजहर अलीले अविजित रहदै १ सय ४१ रनको शतकीय इनिङ्स खेलेपनि इंग्ल्यान्डले पाकिस्तानलाई फलो अनमा पठाएको थियो ।

इंग्ल्यान्डविरुद्ध फलो अनमा परेको पाकिस्तानलाई बाबर आजमले अर्धशतकीय इनिङ्स खेल्दै हारबाट जोगाए । दोस्रो इनिङ्समा आजमले अविजित रहदै ६३ रन बनाए ।

यस्तै अबिद अलीले ४२ रन बनाउदा अजहर अलीले ३१ रन जोडे ।

इंग्ल्यान्डका जेम्स एन्डरसनले २ विकेट लिए । यससँगै उनले टेस्ट क्रिकेटमा ६०० विकेट पुरा गरे ।

टेस्ट क्रिकेटमा ६ सय विकेट पुरा गर्ने एन्डरसन पहिलो फास्ट बलर हुन् । टेस्टमा यो कोशेढुंगा पुरा गर्ने एन्डरसन चौथो बलर हुन् ।

पहिलो टेस्ट इंग्ल्यान्डले जितेको थियो भने दोस्रो टेस्ट बराबरीमा सकिएको थियो ।

 

 

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest