क्यानकाे साधारण सभा स्थगित

नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधारण सभा नहुने भएको छ । क्यानका शिर्ष दुई पदाधिकारी अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भएर पुर्ण निको नभईसकेकाले असोज २८ र २९ गतेका लागि तय भएको क्यानको साधारणसभा स्थगित हुने भएको हो । अब मङ्सिर १५ सम्म क्यानले साधारण सभा गर्ने याेजना बनाएकाे छ ।

यो विषयमा आइसीसीलाई पनि जानकारी दिइसकेको भनिएको छ भने अहिलेको अवस्थामा भर्चुअलमा पनि साधारण सभा गर्न कठिन भएको क्यानको ठम्याई छ । क्यानले चैत्र ६ गते बसेको कार्यसमितीको बैठकबाट असोजको २८ र २९ गते बार्षिक साधारण सभा गर्ने बताएको थियो ।
त्यो बेला सके सबै भेला भएर र नभएमा भर्चुअलमा गर्ने बताएको थियो । तर त्यो बैठकबाट फर्किए लगत्तै अध्यक्ष चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना पोजेटिभ भएको थियो । त्यसमा सचिव प्याकुरेल अहिलेपनि अस्पतालमा भर्ना भइरहेका छन ।

अब क्यानले नाेभेम्बरमा गर्ने निर्णय गरेको छ । आफ्नो बार्षिक साधारण सभा स्थगित गरिने विषयमा क्यानले सबै निकायलाई पत्राचार गर्ने भएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीसँगको सम्झौता अनुसार अक्टोबर १५ मा बार्षिक साधारण सभा गर्ने भनेर भनिएको थियो । तर अहिलेको अवस्थामा त्यो संभव नभएको र अब एकिन मिती नतोकिएपनि नोभेम्बरभित्र सक्ने योजना रहेको बताए ।

करिव चार बर्ष आइसीसीको निलम्बनमा परेको क्यानको नयाँ कार्यसमिती आएपछि सर्त अनुसार नेपाली क्रिकेटलाई आंशिक फुकुवा गरेको थियो । त्यो बेला आइसीसीले क्यानलाई मुख्य गरि तीन वटा सर्त राखेको थियो । त्यसमा कार्यालय ब्यवस्थापन, बार्षिक साधारण सभा र आर्थिक पारदर्शिता लगायतका थिए ।

अक्टोबर १५ मा साधारण सभा गरेर आर्थिक प्रतिबेदन, आर्थिक नियमावली, आगामी योजनाहरुलाई पारित गर्नुपर्ने थियो । सबै कुरा आइसीसीलाई पठाएर आंशिक फुकुवालाई पुर्ण फुकुवाका लागि पहल गर्नुपर्ने थियो । तर त्यो प्रक्रिया तत्काल नहुने भएको छ ।

यो आंशिक फुकुवाको प्रक्रियालाई पुरा नगरेसम्म क्यानले पुर्ण रुपमा अझैपनि काम गर्न पाउने अवस्था छैन । किनकी क्यानले अहिलेपनि आर्थिक रुपमा आइसीसीको भर नै पर्नुपरेको छ । पुर्ण फुकुवा भएको खण्डमा क्यानले प्रायोजन खोज्ने, आर्थिक पक्षलाई बलियो बनाउने काममा लाग्ने थियो । जुन केहि समयका लागि ढिलो हुने भएको छ ।

क्यानले अहिलेपनि खेलाडी, कर्मचारी, ग्राउण्ड स्टाफको तलव दिनै बाँकी रहेको छ । त्यसमा पनि अझै नयाँ पदाधिकारी नियुक्त गर्नुपर्ने छ । जनरल म्यानेजर, फाइनान्स म्यानेजर, क्रिकेट म्यानेजर र विभिन्न प्रदेशमा प्रशिक्षक चयन गरेपछि झन क्यानको खर्च बढ्ने छ । अहिले नै क्यानको खर्च मासिक रुपमा लाखौ रहेको छ । झन पुर्ण रुपमा पदपुर्ति भएपछि झण्डै साँढे एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसकालागि क्यानले आर्थिक रुपमा बलियो हुन निकै आवश्यक रहेको छ ।

यदि त्यसो हुन सकेन भने फेरी पनि क्यान लगडोजस्तै नहोला भन्न सकिन्छ । क्यानका एक पदाधिकारीले यदि समयमा नै पुर्ण रुपमा फुकुवा नभएको अवस्थामा क्यानलाई झन समस्या बढ्ने बताए । किनकी खर्च बढि र आम्दानी निकै कम भएको खण्डमा त्यसलाई ब्यवस्थापन गर्न पुर्ण फुकुवा हुन आवश्यक रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest