चेन्नेईकाे आइपीएलमा तेस्राे जित

इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावादले पाँचौ हार ब्यहोरेको छ । मंगलबार राति भएको खेलमा हैदरावाद २० रनले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

चेन्नेईको सुरुवात भने राम्रो हुन सकेन । टिमको स्कोर १० रन हुँदा डुप्लेसिस खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि साम करन र सेन वाट्सनले पारि अघि बढाएका थिए ।

टिमको स्कोर ३५ रन हुँदा साम करण व्यक्तिगत ३१ रन बनाएर आउट भए । उनले २१ बल फेस गर्दा दुई छक्का तथा तीन चौका प्रहार गरे ।

सेन वाट्सन र अम्बाती रायडूले चेन्नेईको स्कोर १०० रन पार गराएका थिए । राइडु ४१ रनमा आउट हुँदा चेन्नेईको स्कोर १ सय १६ रन थियो ।

यसैगरी वाट्सन पनि व्यक्तिगत ४२ रन बनाएर पभेलियन फर्किए । वाट्सनले ३८ बलमा ३ छक्का र एक चौका प्रहार गरे । कप्तान महेन्द्र सिंह धोनी पनि १३ बलमा २१ रन बनाएर आउट भए । रविन्द्र जडेजाले १० बलमा २५ रन बनाए ।

सनराईजर्सका सन्दीप शर्मा, खलिल अहमद र टी नटराजनले दुई दुई विकेट लिए ।

जवाफमा हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ४७ रनमा रोकियो । मध्यम सुरुवात गरेको हैदरावादले २३ रनमा पहिलो विकेट गुमाएको थियो भने ५९ रन बनाउँदा तीन विकेट खेर फालेको थियो ।

उसका कप्तान डेविड वार्नर मात्र नौ रनमा आउट भए भने मनिश पाण्डे चार रनमा रन आउट भए । पाण्डे सन् २०१५ पछि पहिलो पटक रनआउट भएका हुन । यस्तै जोनी ब्रेस्टो २३ रनमा पेभेलियन फर्किए ।

यस्तै प्रियम गार्ग १६ रनमा आउट हुँदा हैदरावादले ९९ रनमा चौथो विकेट गुमायो । त्यसपछि विजय शंकर १२ रनमा आउट हुँदा हैदरावाद निकै दबावमा आएको थियो ।

हैदरावादको स्कोर एक सय २६ रन हुँदा छैटौ विकेट झर्यो । उसका भरपर्दा खेलाडी केन विलियम्सन ५७ रनमा आउट भए । उनले सात चौका प्रहार गरे । यस्तै रासिद खानले १४ रनको योगदान गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।

जारी प्रतियोगितामा हैदरावादको पाँचौ हार हो । यो जितपछि चेन्नेईको आठ खेलमा ६ अंक भएको छ । हैदरावादको पनि आठ खेलमा ६ अंक रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest