राजस्थानकाे सहज जित

इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले छैटौ जित निकालेको छ । यो जितपछि उसले शिर्ष चारमा पुग्ने निकै झिनो आशा बाँकी राखेको छ ।

राजस्थानसँग सात विकेटले पराजित भएको पञ्जावले अब प्लेअफमा पुग्नका लागि आफ्नो अन्तिम खेल जित्नुका साथै कोलकाताको नजितामा भर पर्नुपर्नेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावका लागि क्रिस गेलको ९९ रनको मद्दतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनायो ।

गेलले आज सात छक्का प्रहार गरेसँगै टी २० क्रिकेटमा १ हजार छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाएका छन् । उनले ९९ रन बनाउँदा समग्रमा ८ छक्का प्रहार गरेका थिए । ९९ रन भएका बेला जोफ्रा आर्चरको बलमा उनी बोल्ड आउट हुन पुगे ।

पञ्जावको सुरुवात भने राम्रो हुन सकेन । खाता नै नखोली मन्दीप सिंह आउट भएपछि गेल क्रिजमा आएका थिए । गेल र कप्तान केएल राहुलले १२० रनको साझेदारी गरेका थिए । राहुल ४६ रन बनाएर आउट हुन पुगे । त्यसपछि क्रिजमा आएका निकोलस पुरनले पनि आक्रमक पारि खेले । उनले समग्रमा तीन छक्का प्रहार गरे । पुरनले पनि टी २० क्रिकेटमा २०१ छक्का बनाएका छन् ।

पुरनले १० बल फेस गर्दा २२ रन बनेको थियो । अन्तिम ओभरको २ बल बाँकी रहेका बेला चौथो विकेटको रुपमा गेल ९९ रन बनाएर आउट हुन पुगे । राजस्थानका जोफ्रा आर्चर बेन स्टोक्सले समान दुई दुई विकेट लिए ।

जवाफमा राजस्थानले १७ ओभर तीन बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बलियो सुरुवात गरेको राजस्थानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेको थियो । उसका ओपनर रविन उथप्पाले ३० रन बनाए भने बेन स्टोकले उत्कृष्ट पारी खेल्दै अर्धशतक बनाए । उनले २६ बलमा ६ चौका र तीन छक्का प्रहार गरे ।

त्यसपछि सञ्जु सामसनले पनि २५ बलमा ४८ रन बनाए भने कप्तान स्टिभ स्मिथले अविजीत ३१ रनको योगदान गरे । यस्तै जोस बटलरले २२ रन थपे ।

जारी प्रतियोगितामा पञ्जावले छैटौ खेलमा पहिलो हार ब्यहोरेको हो । यो हारपछि पञ्जावको १३ खेलमा १२ अंक छ भने राजस्थानले पनि समान खेलबाट १२ अंक नै बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest