वेष्ट इन्डिज विरूद्धको टी-२० सिरिज न्यूजिल्याण्डलाई

घरेलु टिम न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

माउन्ट माउनगानुईमा आइतबार भएको दोस्रो टी-ट्वान्टीमा ७२ रनको जित निकाल्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै आफ्नो बनाएको हो ।

बे ओभलमा न्युजिल्याण्डले दिएको २ सय ३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि कप्तान केइरन पोलार्डले सर्वाधिक २८ रन बनाए । यस्तै शिम्रन हिटमायरले २५ रन जोड्दा आन्द्रे फ्लेटचर र केली माएर्सले २०/२० रन बनाए ।

किमो पाउलले अविजित २६ रन जोड्दा फाबियन एलेनले १५ रन बनाए ।

न्युजिल्याण्डका केली जेमिसन र मिचेल स्टानरले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।

न्युजिल्याण्डको उच्च स्कोरमा ग्लेन फिलिप्सले शतकीय इनिङ्स खेले । ५१ बलको सामना गरेका फिलिप्सले १ सय ८ रन बनाएर आउट भए ।

४६ बलमा शतक पुरा गरेका फिलिप्सले ८ छक्का र १० चौका प्रहार गरे । टी-ट्वान्टी अन्तराष्ट्रियमा उनको यो पहिलो शतक समेत हो ।

यस्तै डेभोन कोनवेले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै मार्टिन गुप्तिलले ३४ रन जोड्दा टिम सेइफर्टले १८ रन जोडे ।

वेस्ट इन्डिजका केइरन पोलार्ड, फाबियन एलन र ओसुमाने थोमसले १/१ विकेट लिए ।

जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिजमा २-० को अग्रता समेत बताएको छ ।

यस अघि पहिलो खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा ५ विकेटले हराएको थियो ।

दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल सोमबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest