गण्डकीद्वारा प्रदेश एक २ विकेटले पराजित

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । आज भएको खेलमा गण्डकीले प्रदेश एकलाई दुई विकेटले हरायो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक २७ ओभर चार बलमा एक सय दुई रनमा अलआउट भयो ।

मध्यम सुरुवात गरेको प्रदेश एकले ३७ रनमा पहिलो विकेट गुमाएको थियो । ५० रनमा दोस्रो विकेट गुमाएको प्रदेश एक अन्तिममा एक सय दुई रनमा अलआउट भयो । उसले बाँकी आठ विकेट ५२ रन बनाउँदा गुमायो ।

प्रदेश एकका लागि मनिश थापाले २२ रन बनाए भने कप्तान सिद्धान्त लोहनीले २४, दिपक पासवानले ११, शुभशंकर उराओले १२ रन बनाए ।

यस्तै दिपेश कँडेलले १० रन बनाउादा बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए । उसका पुछारका तीन खेलाडीले खाता खोल्न सकेनन् ।

प्रदेश एकलाई सस्तैमा आउट गर्नका लागि सुवास भण्डारी र विशाल पौडेलले चार चार विकेट लिए । विशालले ह्याट्रिक सहित चार विकेट लिए । उनले २७ ओभरको दोस्रो बलमा हेमन्त राईलाई आउट गरे भने तेस्रो बलमा मनोज तामाङलाई एलबीडब्लु धरापमा पारे । यस्तै चौथो बलमा हेमन्त राईलाई आउट गर्दै ह्याट्रिक पुरा गरे । यस्तै विपिन खत्रीले दुई विकेट हात पारे ।

जवाफमा गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका तीन खेलाडीले दोहोरो अंक जोडे । जसमा अर्जुन कुमालले ३५ रन बनाए भने दिपक डुर्मेले पनि ३५ रन नै बनाए । यस्तै अभिशेक थापाले १३ रन बनाए ।

खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको गण्डकीले तीन रनमा दोस्रो विकेट खेर फाल्यो । तेस्रो विकेटका लागि दिपक र अर्जुनविच अर्धशतकीय साझेदारी भएको थियो । अन्तिममा गण्डकीले आठ विकेट खेर फालेर जित निकाल्यो । बलिङमा प्रदेश एकका मनिश थापा र शुभशंकर उराओले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest