बागमतीकाे पीएम कपमा लगातार दाेस्राे जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ । जितसँगै बागमतीले सेमिफाइनलको यात्रा बलियो बनाएको छ । उसले आज भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई एक सय ८० रनले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले पृथु बास्कोटा र आदिल खानको संयमित ब्याटिङका कारण ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ९९ रन बनायो । बागमतीले सुरुवात भने राम्रो गर्न सकेन ।

मात्र १६ रन हुँदा पहिलो विकेट गुमाएको बागमतीले ६० रनमा दोस्रो विकेट गुमायो । उसका आकाश थापा १३ रनमा आउट भए भने पारस खड्का २० रनमा पेभेलियन फर्किए ।

तर तेस्रो विकेटका लागि पृथु र आदिलले एक सय नौ रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्याए । आदिलले ६३ रनको योगदान गरे ।उनले ८६ बलमा १० चौका प्रहार गरे । यस्तै पृथुले ९४ बलमा १० चौका र दुई छक्का प्रहार गरेर ८४ रन बनाए ।

यस्तै इशान पाण्डेले १७ रन बनाए । दुई सय ११ रनमा पाँचौ विकेट गुमाएको बागमतीका लागि छैटौं विकेटका लागि ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले अर्धशतकीय साझेदारी गरे । जसमा ज्ञानेन्द्र र विपिनले समान ३२–३२ रन बनाए । बलिङमा सुदुरका नारायण जोशीले तीन, भोजराज भट्ट र सन्तोष भट्टले दुई दुई विकेट लिए ।

जवाफमा सुदुरपश्चिम प्रदेश २१ ओभरमा एक सय १९ रनमा अलआउट भयो ।

तुलनात्मक रुपमा कमजोर रहेको सुदुरका सुरुवाती चार खेलाडीले खाता खोल्न नपाउँदै आउट भए । युवा खेलाडीले भरिएको टिमका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा अर्जुन साउदले ३१ रन बनाए भने किरन ठगुन्नाले २४ रनको योगदान गरे । नारायन जोशीले ४४ रनको योगदान गरे ।

सुदुरले खातामा एक रन जोड्दा चार विकेट गुमाएको थियो भने चार रन जोड्दा पाँच विकेट गुमायो । तर छैटौं विकेटका लागि किरन र अर्जुले अर्धशतकीय साझेदारी गरेका थिए । तर अर्जुन आउट भएपछि सुदुरको टिमका अरु खेलाडीपनि सस्तैमा आउट भए । बलिङमा रामनरेश गिरीले चार तथा नन्दन यादवले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest