पुलिस ९ विकेटले बिजयी

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले पहिलो जित निकालेको छ । उसले सुदुरपश्चिम प्रदेशलाई ९ विकेटको भारी अन्तरले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिम ३३ ओभर एक बलमा एक सय १० रनमा अलआउट भयो । खराव सुरुवात गरेको सुदुरपश्चिमले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर सन्तोष भट्ट खाता खोल्न नपाउँदै आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि खड्क बोहोरा र सन्जु धामीले ८० रनको साझेदारी गरेका थिए । तर सन्जु ब्यक्तिगत ३५ रनमा आउट भएपछि सुदुरले दोस्रो विकेट गुमायो । तर त्यसपछि सुदुरको विकेट झर्ने क्रम रोकिएन । उसका लागि खड्क बोहोराले ४० रन बनाए भने सन्जुले ३५ रन जोडे । यस्तै अरुण ऐरीले १३ रन बनाउँदा अर्जुन साउदले १० रन बनाए । बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

एक सय दुई रन हुँदा चार विकेट गुमाएको सुदुरले खातामा अरु आठ रन जोड्दा अलआउट भयो । उसका पुछारका चार खेलाडीले खाता खोल्न सकेनन् । बलिङमा सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले चार चार विकेट लिए ।

जवाफमा साविक विजेता पुलिसले १७ ओभरमा एक विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । पुलिसको जितमा सुनील धमला र कुशल भुर्तेलले उत्कृष्ट साझेदारी गरे । उनीहरुले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए । सुनील धमला ५७ रनमा आउट भएपछि उसले पहिलो विकेट गुमायो । उनले ५७ बलमा छ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै कुशल भर्तेलले अर्धशतकीय पारी खेले । उनले अविजीत ५१ रन बनाए । कमजोर टिम सुदुरपश्चिमविरुद्धको जितपछि पुलिसले लय समातेको छ । पहिलो खेलमा पुलिस बागमती प्रदेशसँग पराजित भएको थियो । सुदुरपश्चिमको भने प्रतियोगितामा लगातार दोस्रो हार हो । यो हारपछि उसको अर्को चरणमा प्रवेश गर्ने संभावना निकै कमजोर बनेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest