प्रदेश एकको पीएम कपमा सान्त्वना जित

राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले एक मात्र जित निकाल्न सफल भएको छ ।

समूह चरणको अन्तिम खेल खेल्नु अघि नै प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश एकले शुक्रबार कर्णाली प्रदेशमाथि ५९ रनको जित निकाल्दै प्रतियोगिताबाट बिदा भएको हो । पराजयले भने कर्णालीलाई समस्या थपिदिएको छ । समूह ए मा रहेको कर्णाली २ अंकसहित तेस्रो स्थानमा छ । उसको अब एक खेल बाँकी छ ।

कीर्तिपुर मैदानमा प्रदेश एकले दिएको २१६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७ रन बनाउँदा निष्चल रावलले ३१ तथा कप्तान रविन्द्र शाहीले १८ रनको योगदान गरेका थिए । दिवान पुनले १४ रन बनाउँदा दिनेश अधिकारीले ११ रन बनाए ।

कर्णालीलाई रोक्ने क्रममा मिनास थापाले सर्वाधिक ५ विकेट लिए । १० ओभरको स्पेलमा २ ओभर मेडन राख्दै २६ रन खर्चिएर ५ विकेट हात पारेका हुन् । यसैगरी दीपेश कँडेलले ९ ओभरमा तीन ओभर मेडन राख्दै २३ रन खर्चिएर ३ विकेट लिँदा मनोज तामाङको नाममा दुई विकेट रह्यो ।

टस जितेर हिला ब्याटिङ गरेको प्रदेश एकले निर्धारित ओभरमा ९ विकेट गुमाए २१५ रन बनायो ।

प्रदेश एकका लागि कप्तान सिद्धान्त लोहनीले अर्धशतकीय पारि खेले । उनी ६६ रन बनाएर आउट भएका थिए । यसैगरी सुभंकर उरावले ३६ रन बनाउँदा मिनास थापाले २५ रनको योगदान गरेका थिए ।

श्रवन यादव र फिर्दोश अन्सारीले समान १७–१७ रन बनाउँदा राजन मगरले १० रनको योगदान गरेका थिए । कर्णालीका रविन्द्र शाहीले सर्वाधिक तीन विकेट लिँदा दिनेश अधिकारी र अजुन चुनाराले समान दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest