आर्मी फाइनलमा, बागमती ९४ रनले पराजित

विभागिए टिम त्रिभुवन आर्मी लगातार चौथो पटक प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा आर्मीले बागमती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि आर्मीले चिरप्रतिद्धन्द्धी एपीएफ क्लवसँग खेल्नेछ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय २९ रन बनायो । निकै खराव सुरुवात गरेको आर्मीले पाँच रन हुँदा दुई विकेट गुमाएको थियो । यो प्रतियोगितामा पहिलो पटक ओपनरका रुपमा आएका हरी चौहान मात्र तीन रनमा आउट भए भने लगतै रोहित पौडेल खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि अनिल मण्डले दुई रनमा पेभेलियन फर्किए । जसका कारण आर्मीले १७ रनमा तीन विकेट खेर फाल्यो ।

चौथो विकेटका लागि भिम शार्की र लोकेश बमले ५६ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर लोकेश बम २३ रनमा आउट भए भने भिम शार्की ४० रन बनाएर बाहिरीएपछि आर्मीले ८० रन बनाउँदा पाँच विकेट गुमायो ।

आर्मीका लागि विनोद भण्डारीले १० रनको योगदान गरे ।

एक समय खराव अवस्थामा रहेको आर्मीलाई राजेश पुलामी र विक्रम शोबले उकासेका थिए । उनीहरुले सातौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । जसमा विक्रमले ३५ रन बनाएर आउट भएपछि आर्मीले एक सय ९८ रनमा सातौं विकेट गुमाएको थियो । अन्तिम ओभरमा राजेश ६५ रनमा आउट भए । उनले ९१ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

सुसन भारीले १६ रनको योगदान गरे । बलिङमा गौतम केसीले पाँच विकेट लिए ।

जवाफमा बागमती प्रदेश ४० ओभर २ बलमा एक सय ३५ रनमा अलआउट भयो । निकै खराव सुरुवात गरेको बागमतीले १८ रन बनाउँदा महत्वपुर्ण पाँच विकेट गुमाएको थियो । उसका आकाश थापा खाता खोल्न सकेनन् भने विभत्सु थापा चार रनमा आउट भए । यस्तै यो प्रतियोगितामा उत्कृष्ट लयमा देखिएका पृथु बास्कोटपनि मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि क्रिजमा आएका इशान पाण्डेले पनि खाता खोल्न नपाउँदै आउट भएपछि बागमती धर्मशंकटमा परेको थियो ।

छैटौं विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लर विपिन आचार्यविच ५८ रनको साझेदारी हुँदा बागमतीलाई झिनो आशा पलाएको थियो । तर विपिन ब्यक्तिगत २३ रनमा आउट भएपछि बागमतीले ७६ रनमा छैटौं विकेट गुमायो । त्यसपछि रामनरेश गिरी मात्र ६ रन, कप्तान मल्ल ४७ रनमा आउट भएपछि बागमती हारको बाटोमा लम्किन बाध्य भयो ।

बलिङमा जितेन्द्र मुखियाले चार विकेट लिए भने विक्रम सोब र सुसन भारीले तीन तीन विकेट लिए । अब फाइनल खेल शनिबार हुनेछ । आमीले यो प्रतियोगिताको पहिलो संस्करणमा पुलिसँग संयुक्त रुपमा विजेता बनेको थियो भने दोस्रो संस्करणमा एपीएफसँग नै फाइनलमा हारेको थियो । अघिल्लो पटक आर्मी पुलिससँग पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest