आर्मीले एपीएफलाई २१२ रनको लक्ष्य

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीले एपीएफलाई दुई सय १२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ११ रन बनायो । आर्मीले आजको खेलमा अनिल मण्डल र वलर सुशन भारीलाई ओपनिङ पठाएको थियो । पहिलो विकेटका लागि ओपनिङ साझेदारी ३२ रनको भएको थियो ।

८.६ ओभरमा ३२ रन भएका बेला भारी व्यक्तिगत १३ रन बनाएर आउट हुन पुगे । किशोर महतोले विकेटकिपर सुवास खकुरेलमार्फत भारीलाई आउट गराएका थिए । भारीले ३४ बल फेस गर्दा एक चौका प्रहार गरेका थिए । सोही स्कोरमा १ ओभरमा अनिल मण्डल पनि आउट हुन पुगे ।

अनिलले २१ बल फेस गर्दा एक चौकाको मद्दतले ११ रन बनाए । अनिललाई अविनास बोहोराको बलिङमा आशिफ शेखले क्याच आउट गरेका थिए । आर्मीले तेस्रो विकेट ४७ रन भएका बेला गुमाएको थियो । आर्मीका भीम सार्की व्यक्तिगत सात रन बनाएर आउट हुन पुगे । उनले ३६ बल फेस गर्दा एक चौका प्रहार गरे ।

भीमलाई अविनाशको बलिङमा विकेटकिपर सुवासले पभेलियन पठाएका हुन् । टिमको स्कोर ८८ रन हुँदा आर्मीले चौथो विकेटको रुपमा रोहित पौडेललाई गुमायो । रोहित ३० बलमा १३ रन बनाउँदै आउट हुन पुगेका थिए । उनले एक छक्का प्रहार गरे । विनोद भण्डारी र हरि चौहानले टिमको स्कोर १०० कटाएका थिए । विनोद व्यक्तिगत सात रन बनाएर आउट हुन पुगे ।

चौहानलाई साथ दिन राजेश पुलामी क्रिजमा आएका थिए । हरि चौहानले ८९ बलमा अर्धशतक पुरा गरे । उनले ५८ रनको योगदान गरे । पहिलो विकेट पतन भएपछि क्रिजमा आएका चौहानले अर्धशतक बनाउँदा चार चौका प्रहार गरे । टिमको स्कोर १६७ रन भएका बेला लोकेश बम आउट हुन पुगेका थिए ।

लोकेसले ९ बलमा १५ रन बनाउँदा दुई छक्का प्रहार गरेका थिए । अन्तिममा साहब आलमले २५ रनको योगदान गर्दा आर्मीले सम्मानजनक स्कोर खडा गर्यो । बलिङमा अभिनाश बोहोराले चार तथा किशोर महतोले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest