टी-१० लिगमा करणकाे पहिलाे विकेट, पुणे भने ५ विकेटले पराजित

टी १० लिगमा नेपाली खेलाडी करण केसीको टिम पुणे डेभिल्सले दोस्रो हार ब्यहोर्दा, कुशल मल्लको टिम आबुधावीले पहिलो जित निकालेको छ । आबुधावीले पुणे डेभिल्सलाई पाँच विकेटले हरायो ।

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुणेले निर्धारीत १० ओभरमा चार विकेट गुमाउँदै एक सय २९ रन बनायो । मध्यम सुरुवात गरेको पुणेले २२ रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर केनार लुइस मात्र पाँच रनमा आउट भए । त्यसपछि चान्डविक वाल्टोनपनि ब्यक्तिगत २३ रनमा आउट भएपछि पुणेले ६८ रनमा दोस्रो विकेट गुमायो । लगत्तै एलेक्स डाभिसपनि नौ रनमा आउट हुँदा पुणेको ७७ रनमा तीन विकेट भएको थियो ।

तर त्यसपछि टोम काडमोर र डेभोन थोमसले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई बलियो लक्ष्य दिन सफल भए । जसमा काडमोरले २५ बलमा विस्फोटक ६१ रन बनाए । जसमा पाँच चौका र पाँच छक्का सामेल थियो । डेभोन थोमसले नौ बलमा २१ रन बनाए । जसमा उनले एक चौका र दुई छक्का प्रहार गरे ।

जवाफमा आबुधावी टिमले आठ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उसका लागि पउल स्ट्रलिङले २३ रन बनाए भने क्रिस गेलले नौ रनमा आउट भए । यस्तै जोय क्लार्कले २९ रन बनाउँदा बेन डुकेटले २० रनको योगदान गरे । यस्तै लुक राइट मात्र ६ रनमा आउट भए । अन्तिममा जेमी ओभरटोनले टिमलाई जित दिलाए । उनले ११ बलमा ३८ रन बनाए ।

बलिङमा करण केसीले मात्र एक ओभर गर्न पाए । जसमा उनले १८ रन खर्चिएर क्रिस गेलको महत्वपुर्ण विकेट लिएका थिए ।

टिमको चौथो ओभर बलिङ लिएर आएका करणले पहिलो बलमा नै गेललाई बोल्ड गर्न सफल भए । उनले गेललाई मात्र नौ रनमा बोल्डआउट गरे ।

त्यसपछि दोस्रो बल वाइड फालेका उनले अर्को बलमा चौका खाएका थिए । तेस्रो बलमा एक रन दिएका करणले चौथा र पाँचौ बलमा लगातार दुई चौका खाएका थिए । अन्तिम बलमा पनि उनलाई जोय क्लार्कले चौका प्रहार गरे ।

यसअघि दुवै खेलमा करण विकेटविहिन बनेका थिए । करणले कलन्दर्सविरुद्ध १ ओभर बलिङ गर्दै ९ रन खर्चेका थिए । जुन उक्त खेलमा पुणेका लागि १० रन दिने एकमात्र बलर थिए । करणले पहिलो खेलमा डेकन ग्ल्याडियटर्सविरुद्ध एक ओभरमा १७ रन खर्चेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest