उपाधिको मुख्य दावेदार टिम आर्मीले काठमाडौं मेयर कपको उद्घाटन खेलमा नै एपीएफसँग पराजित भएको छ । आज भएको खेलमा आर्मी एपीएफसँग एक विकेटले पराजित भयो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी ४९ ओभर पाँच बलमा दुई सय ३५ रनमा अलआउट भयो । बलियो सुरुवात गरेको आर्मीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेको थियो ।
पहिलो विकेटका लागि सोमपाल कामी र लोकेश बमले ६१ रनको साझेदारी गरेका थिए । पहिलो पटक टिमको ओपनिङ गर्न आएका सोमपालले २८ रन बनाए । उनी आर्मीका लागि पहिलो पटक ओपनिङ गर्न आएका हुन ।
सुरुवात बलियो गरेपनि आर्मीले विचमा दुई विकेट सस्तैमा गुमायो । जसका कारण उसको स्कोर ९४ रन हुँदा तीन विकेट झरेको थियो । लोकेश बमले ३० रन बनाए भने भिम शार्कीले १८ रन जोडे ।
कप्तान विनोद भण्डारी र रोहित पौडेलविच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएपछि आर्मी बलियो स्थितीमा पुगेको थियो । विनोदले ४२ रन बनाए भने रोहितले अर्धशतकीय पारी खेले । उनले ५६ रनको योगदान गरे । त्यसपछ िकुशल मल्ल ११ रनमा आउट भए भने राजेश पुलामीले १७ रन बनाए ।
बलिङमा एपीएफका अभिनाश बाेहाेराले तीन तथा भुवन कार्की र अमर रौटेलाले दुई दुई विकेट लिए ।
जवाफमा एपीएफले ४९ ओभर चार बलमा नौ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । एक समय हारको नजिक पुगेको एपीएफका पुछार तिरका खेलाडीले राम्रो ब्याटिङ गर्दा जित निकाल्न सफल भयो । एपीएफले १६ रन बनाउँदा चार विकेट गुमाएको थियो ।
उसका ओपनर सुवास खकुरेल चार रनमा आउट भए भने कप्तान शरद भेषवाकरले खाता खोल्न सकेनन् । यस्तै सन्दिप जोराले पनि खाता नखोलि आउट भएपछि एपीएफ सुरुवातमा नै दबावमा आएको थियो । यस्तै आशिफ शेखपनि १२ रनमा आउट भए ।
तर पाँचौ विकेटका लागि सुमित महर्जन र शंकर रानाविच ५२ रनको साझेदारी भएपछि एपीएफ केहि सम्हालिएको थियो । शंकर राना ३३ रनमा आउट हुँदा एपीएफले ६८ रनमा पाँचौं विकेट गुमायो ।
यस्तै भुवन कार्की १० रनमा आउट भए । यस्तै सातौं विकेटका लागि सुमित महर्जन र अमरसिंह रौटेलाविच ७१ रनको साझेदारी भएपछि टिम बलियो स्थितीमा पुगेको थियो । तर रौटेला ३८ रनमा आउट भए ।
एपीएफका लागि सुमितले ६० रन बनाए भने बसन्त रेग्मीले ४९ रनको योगदान गरे । एपीएफलाई अन्तिम ओभरमा जितका लागि सात रन चाहिएको थियो । जसमा अभिनाशले छक्का प्रहार गर्दै स्कोर बराबरी गरे । त्यसपछि एक रन लिएर उनले टिमलाई उत्कृष्ट जित दिलाए ।
Discussion about this post