इंग्ल्याण्ड विरुद्धको चाैथाे टी-२० मा भारत ८ रनले विजयी

इंग्ल्याण्डविरुद्धको चौथो टी २० खेलमा भारत ८ रनले विजयी भयो । जितसँगै भारतले पाँच खेलको सिरिजमा दुई दुईको बराबरी गरेको छ । पाँच खेलको सिरिजको टुंगो अन्तिम खेलमा लाग्ने भएको छ ।

अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८५ रन बनायो । भारतका लागि सूर्य कुमार यादवले अर्धशतकीय पारि खेल्दा ऋषभ पन्तले ३० रन बनाए । यसैगरी कप्तान विराट कोहली एक रनमा पभेलियन फर्किदा रोहित शर्मा १२ तथा केएल राहुल १४ रन बनाएर आउट भए ।

भारतको ओपनिङ रोहित र केएलले गरेका थिए । टिमको स्कोर २१ रन भएका बेला रोहित व्यक्तिगत १२ रन बनाएर आउट हुन पुगे । रोहितले १२ बल फेस गर्दा एक छक्का र एक चौका प्रहार गरे । रोहितलाई जोफ्रा आर्चरले पभेलियन पठाएका थिए ।

त्यसपछि क्रिजमा आएको सूर्यकुमार यादव र केएल राहुलले भारतको पारि अघि बढाएका थिए । यी दुई खेलाडीबीच २७ बलमा ४२ रनको साझेदारी भएको थियो । ६३ रन भएका बेला राहुल व्यक्तिगत १४ रन बनाएर आउट भएका थिए । राहुलले दुई चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका कप्तान विराट कोहली एक रन जोड्दै आउट हुँदा भारतले ७० रन जोड्दा तेस्रो विकेट गुमायो ।

चौथो विकेटको रुपमा सूर्यकुमार यादव आउट हुन पुगे । उनी अर्धशतकीय पारि खेलेर आउट हुँदा भारतले ४–११० रन बनाएको थियो । यादवले ५७ रन जोड्दा ३१ बल फेस गरेका थिए । उनले तीन छक्का र छ चौका प्रहार गरे ।

१४४ रन भएका बेला विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त पनि पभेलियन फर्किए । राम्रो प्रदर्शन गरेका ऋषभ २३ बलमा ३० रन बनाएर आउट भएका हुन् । यसैगरी छैटौं विकेटको रुपमा हार्दिक पाण्डु्या पभेलियन फर्किदा उनले व्यक्तिगत ११ रन बनाए । सातौं विकेटको रुपमा श्रीयस अय्यर आउट हुन पुगेका थिए । अय्यर १८ बलमा ३७ रन बनाएर आउट हुँदा पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

आठौं विकेटको रुपमा वासिंगटन सुन्दरलाई भारतले १७९ को स्कोरमा गुमाउन पुग्यो । उनी २ बलमा चार रन बनाएर आउट भए । अन्तिमसम्म सार्दुल ठाकुर र भुवनेश्वर कुमार नटआउट रहे । ठाकुरले १० रन बनाउँदा भुवनेश्वर कुमारले एक बल पनि पेस गर्न पाएनन् । इंग्ल्याण्डका जोफ्रा आर्चरले ४ विकेट लिँदा आदिल रसिद, मार्क वुड, वेन स्टोक्स र साम करणले एक एक विकेट हात पारे ।

जवाफमा इंग्ल्याण्ड २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ७७ रनमा रोकियो । इंग्ल्याण्डले सुरुवात भने राम्रो गर्न सकेन । मात्र १५ रनमा ओपनर जोस बट्लर ब्यक्तिगत नौ रनमा आउट भए ।

दोस्रो विकेटका लागि डाविड मालान र जेसोन रोयविच ४५ रनको साझेदारी भएको थियो । तर मालान १४ रनमा आउट भएपछि इंग्ल्याण्डले ६० रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसको केहि बेरमा जेसोन रोय ४० रनमा पेभेलियन फर्किए । जसका कारण इंग्ल्याण्डले ६६ रनमा तेस्रो विकेट गुमायो । उनले २७ बलमा ६ चौका र एक छक्का प्रहार गरे ।

चौथो विकेटका लागि जोनी ब्रेस्टो र बेन स्टोक्सविच ६५ रनको साझेदारी भएको थियो । ब्रेन्टो ब्यक्तिगत १५ रनमा आउट भएपछि इंग्ल्याण्डले एक सय ३१ रनमा चौथो विकेट गुमायो ।

त्यसपछि उसल अरु तीन विकेट एकपछि अर्को गरि गुमायो । बेन स्टोक्स ब्यक्तिगत ४६ रनमा आउट हुँदा इंग्ल्याण्डको स्कोर एक सय ४० रन थियो । तर इयोन मोर्गन मात्र पाच् र साम कुरान तीन रनमा पेभेलियन फर्किएपछि इंग्ल्याण्डले हारको बाटो देख्यो । अन्तिममा जोफ्रा आर्चर र क्रिस जोर्डनले झिना आशा देखाएका थिए । अन्तिम ओभरमा इंग्ल्याण्डलाई जितका लागि २३ रन चाहिएको थियो । जसमा उसले १५ रनमा जोड्न सक्यो । बलिङमा सारदुल ठाकुरले तीन तथा हार्दिक पाण्ड्या र राहुल चाहरले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest