करणकाे बिस्फाेटक ब्याटिङमा नेपालले मलेसियासामु २१८ रनकाे लक्ष्य, टी-२० मा दाेस्राे उच्च स्काेर खडा

त्रिकोणात्मक टी २० सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई दुई सय १८ रनको लक्ष्य दिएको छ । टी २० मा दोस्रो उच्च स्कोर बनाउने क्रममा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय १७ रन बनायो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले मध्यम सुरुवात गरेको थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले ३३ रनको साझेदारी गरेका थिए । लगातार तीन खेलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका कुशल १६ रनमा आउट भए ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ शेखले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गर्न सफल भए । तर कप्तान मल्ल २५ बलमा एक चौका र चार छक्को मद्दतले ४१ रन बनाएर आउट भएपनि नेपालले एक सय ६ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि आशिफ शेखपनि ४२ रनमा आउट हुँदा नेपालले एक सय ११ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि क्रिजमा आएका विनोद भण्डारी मात्र आठ रनमा आउट हुँदा नेपालको स्कोर एक सय ४८ रनमा चार विकेटको अवस्थामा थियो । तर लगत्तै दिपेन्द्र ऐरी ३३ रनमा आउट हुन पुगे । तर अन्तिममा कुशल मल्ल र करण केसीको विस्फोटक साझेदारीका कारण नेपालले बलियो लक्ष्य दिन सफल भयो । जसमा करण केसीले १३ बलमा ४५ रन बनाए । जसमा उनले सात छक्का प्रहार गरे । यस्तै कुशल मल्लले १० बलमा १९ रन बनाए ।

टी २० क्रिकेटमा नेपालले एकै प्रतियोगितामा दुई पटक दोस्रो उच्च स्कोर बनाउन सफल भयो । यसअघि नेदरल्याण्ड्सविरुद्ध नेपालले दुई सय ६ रन बनाएको थियो । त्यसलाई नै पछि पार्दै नेपालले आज दुई सय १७ रन बनायो । टी २० मा नेपालको उच्च स्कोर दुई सय ३६ रन रहेको छ । जुन सन् २०१९ मा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागका बेला भुटानविरुद्ध बनाएको थियो ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest