क्यारेवियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक, सन्दिपको टिमको खेल पहिलो दिनमै

नेपाली क्रिकेटर सन्दिप लामिछानेले खेल्ने क्यारिबियन प्रिमियर लिग (सिपीएल) को खेल तालिका सार्वजनिक भएको छ । अगष्ट २६ बाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नै सन्दिपको टिम ट्रिनबागो नाइट राइडर्सले गुएना वारियर्ससँग खेल्ने भएको छ ।

वेष्ट इन्डिजको सेन्ट किट्स एण्ड नेभिसमा हुने प्रतियोगितामा कुल ३३ खेल हुनेछन । प्रतियोगिता सेप्टेम्बर १५ मा सकिनेछ । यो प्रतियोगिताका लागि सन्दिप शाहरुख खानको लगानी रहेको नाइटराइडर्समा अनुबन्ध भएका छन ।

क्यारेवियन प्रिमियर लिगमा सन्दिपको यो चौथो सिजन हुनेछ । यसअघि उनले सन् २०१८ मा सेन्ट किट्स एण्ड नेभिसबाट खेलेका थिए भने २०१९ मा बार्बाडोसबाट र अघिल्लो सिजनमा जमैका तालावाजबाट खेलेका थिए ।

यो सिजनका लागि नाइटराइडर्सले उनलाई अनुबन्ध गरेको थियो । अघिल्लो सिजनमा सन्दिपले ११ खेलमा १२ विकेट लिएका थिए । यसपटक सन्दिपको टिममा सुनील नरायन, खरे पिएरी, अखिल होसेन जस्ता स्पिनर रहेका छन । अघिल्लो सिजनमा नाइट राइडर्सले सिपीएलको उपाधि जितेको थियो ।

यो पटकको प्रतियोगितामा नाइट राइडर्सले दोस्रो खेलमा बार्बाडोससँग खेल्नेछ भने तेस्रो खेलमा सेन्ट लुसियासँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगिता र बेलायतमा हुने द हन्ड्रेका लागि सन्दिप लण्डन पुगिसकेका छन । उनी अहिले क्वारेन्टिनमा रहेका छन । उनी द हन्ड्रेड खेलेर सिपीएलका लागि जानेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest