पारसकाे सन्यासले तरंगिएकाे क्रिकेट

नेपाली क्रिकेटका सफल कप्तानमात्र नभएर ऐतिहासिक खेलाडी पारस खड्काले जुन तरिकाले कप्तान पद त्याग्ने निर्णय गरेर सबैलाई आश्चार्यमा पारेका थिए, त्यसैगरि अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिने निर्णयले सबैलाई चकित पारे । मंगलबार विहान अचानक सामाजिक सञ्जालमा आफुले खेलाडी जीवन छोड्ने निर्णय गरेको भन्दै सबैलाई धन्यवाद दिएर जानकारी गराए । त्यसपछि उनको सन्यासको खबरले सामाजिक सञ्जालको भित्ता पारसमय बन्यो ।

नेपालले एकदिवसियमा पहिलो ऐतिहासिक एक रनको जित निकालेको दिन अर्थात अगष्ट तीन तारिखमा नै पारसले खेलाडी जीवनबाट सन्यासको निर्णय लिए । पारसकै कप्तानीमा हुँदा र पारसकै उत्कृष्ट प्रदर्शनका कारण नेपालले अन्तिम ओभरमा नेदरल्याण्ड्सलाई एक रनले पराजित गरेको थियो । जुन नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन थियो ।

त्यसको ठिक तीन बर्षपछि जितका तिनै नायकले आफ्नो एक अध्यायलाई विश्राम लिने निर्णय गरे । यो निर्णय न सकैले सोचेका थिए, न कसैले सुरुमा विश्वास नै गरे । एक दशक कप्तानको भूमीकामा नेपाललाई शिर्ष डिभिजनसम्म पुर्याउनुका साथै टी २० विश्वकपमा पुर्याएका पारसले कप्तानी पद छोड्दा ब्यक्तिगत निर्णय भएको बताएका थिए भने अहिलेपनि अवस्था त्यस्तै देखिएको छ ।

नेपालमा क्यानको नयाँ नेतृत्व आएको केहि समयपछि नै कप्तान छोडेका पारसका सन्यासले क्यानमा एक किसिमको खैलाबैला मच्चिएको छ । पारसले यस्तो बेला सन्यास लिने निर्णय गरेकी, क्यानलाई उनको स्थानमा अर्को खेलाडी प्रतिस्थापन गर्नका लागि पनि ठूलो चुनौती बनेको छ ।

ओमानमा हुने आसन्न एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमले क्याम्प सुरु गरेकै दिन पारसका राजिनामा आयो । जसले गर्दा खेलाडीपनि अचम्ममा परे ।

यता क्यानलाई भने यस्तो अवस्थामा राजिनामा आउँदा निकै दबाव परेको छ । किनकी नेपाली टिम ओमानमा हुने सिरिजका लागि जाने तयारीको योजना बनाइरहेका थियो भने पारसलाई मुख्य खेलाडीका रुपमा नै लिएको थियो । यतिमात्र होइन, आइसीसीलाई पठाएको खेलाडीको सूचीमा पनि पारसको नाम थियो । तर उनको सन्यासले क्यानलाई दबाव भने बढेको छ ।

यता नयाँ प्रशिक्षक डेभ ह्वाटमोरसँग एकपनि अन्तराष्ट्रिय सिरिज नखेल्दै पारसले सन्यास लिएका छन । घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा पनि उनी चोटका कारण खेल्न सकेका थिएनन् । तर अब उनलाई टिममा फर्किने संभावना निकै कम छ । त्यसैले ह्वाटमोरलाई पनि एकदिवसिय खेलमा पारसको विकल्प खोज्नका लागि चुनौती भएको छ ।

पछिल्लो पटक पारस र क्यानका पदाधिकारीका विचको सम्बन्ध निकै सुमधुर हुन सकेको थिएन । त्यसमापनि पछिल्लो पटक पूर्व क्रिकेट आमीर अख्तरले क्यानलाई खेलाडी भएर ब्यापार गर्न मिल्छ भन्ने प्रश्नसहित छानविनका लागि पत्राचार गरेको थाहा पाएपछि पारसले त्यसको कडा प्रतिक्रिया नै दिएका थिए, त्योपनि बिज्ञेप्ती निकालेर ।

पारसले अबको बाटो क्रिकेट राम्रो गर्न खुलेर लड्ने भन्ने रहेको छ । त्यसका लागि पनि उनको यो सन्यास आएको हुनसक्ने आंकलन गरिन थालेको छ । उनी ढिलो चाँडो क्यानमा आउने देखिएको छ । त्यसैको तयारीका लागि पनि उनको सन्यासको निर्णय भएको हुनुपर्ने बुझिएको छ । किनकी क्यानको बिधानमा नै खेलाडी क्यानको निर्वाचनमा सहभागि हुनका लागि सन्यास लिएको कम्तिमा दुई बर्ष हुनुपर्ने उल्लेख छ । त्यसैको तयारीमा पारस लागेका छन ।

खेलाडी जीवनको सुरुवात देखि नै क्रिकेटको सिस्टममा बोल्दै आएका पारस सन्यास लिँदासम्म पनि त्यहि कुरालाई जोड दिएका छन । जहिले पनि खेलाडीले मैदानमा खेलेर मात्र हुँदैन, त्यहि अनुसारको ब्यवस्थापन हुनुपर्छ भन्ने भनाई राख्दै आएका पारसले खेलाडी भएर गरेको योगदानको ठूलो कदर गर्नुपर्छ ।

क्यानले पनि एक लेजेन्ड खेलाडीको सम्मानका साथ बिदाई गर्नुपर्ने हुन्छ ।

केहि खेलाडी करियरको अन्तिम खेल खेलेर विदा हुने चाहना राख्ने गरेकोमा पारसका लागि भने त्यो ठिक उल्टो भयो, उनी आफै राष्ट्रिय टिममा हुँदाहुँदै पनि सन्यास लिने निर्णयमा पुगे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest