नेपाली टिममा एक नयाँ अनुहार, गुलशनकाे राष्ट्रिय टिमकाे सपना पुरा

ओमानमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानसँगको सिरिजका लागि नेपाली टिममा एक नयाँ अनुहारले स्थान बनाए । चैतमा भएको मेयर्स कपको फाइनलमा एपीएफविरुद्ध चार विकेट लिएपछि एकाएक चर्चामा आएका गुलशन झा को त्यो नै पहिलो घरेलु प्रतियोगिता थियो ।

सो खेलपछि उनले भनेका थिए– म सबै खेलाडीलाई एकै तुलोमा राखेर हेर्छु, खेलाडीले त्यो गर्नुपनि पर्छ । सिनियरलाई सम्मान गर्नुपरिहाल्यो, तर खेलमा चाहि सिनियर र जुनियर सबै प्रतिस्पर्धी हुन । उनले आफुले जहिले पनि खेल्ने बेला आफ्नो उत्कृष्ट दिने खोज्ने गरेको र फाइनलमा पनि त्यहि गरेको बताएका थिए ।

साथै उनले हरेक बलमा विकेट देख्ने गरेको र प्रतिस्पर्धी कस्तो भन्नेमा धेरै समय खर्च गर्ने नगरेको भनेर विश्वासले भरिपुर्ण जवाफमा दिएका थिए । विपक्षी ब्याट्सम्यानलाई खेल्न कठिन हुने गरेर बाउन्सर फाल्ने गुलसनले मेयर्स कपमा बागमतीविरुद्ध डेब्यु गर्दा तीन दशमलव तीन सातको इकोनोमीमा बलिङ गरेका थिए । जसले गर्दा उनी सबैको नजरमा पनि परेका थिए ।

त्यो बेला पुलिस टिमका सिनियर बलरलाई बेन्चमा राखेर झालाई खेलाएको पुलिसको विश्वासमा उनी खरो रुपमा उत्रिएका थिए । त्यो कुरा उनले पत्रकारसँगपनि बताएका थिए ।

मेयर्स कप भन्दा केहि महिना अगाडी भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा उनी प्रदेश २ बाट खेल्ने प्रयास गरेका थिए । तर त्यो बेला छनोटकर्ताको आँखामा नपरेपछि उनी नेक्सर क्रिकेट एकेडेमीमा छात्रबृति पाए । दुई साता सो एकेडेमीमा अभ्यास गरेर उनलाई पुलिसका प्रशिक्षक माधवले उनलाई ट्रायल दिएर टिममा राख्ने निर्णय गरे । उनको ट्रायल लिँदा उनले प्रशिक्षकलाई निकै प्रभाव पारेका थिए । प्रधानमन्त्री कप क्रिकेट खेल्न नपाउँदा निकै खल्लो महसुस गरेका गुलसनले आफुले आफुलाई शान्त्वना दिए । प्रदेश २ बाट रिजर्भ खेलाडीमा परेका उनी १५ जनामा भने परेका थिएनन् ।

झा परिवारमा जेठा छोरा हुन्। उनका बुवा अखिलेश झा र आमा अन्जु देवीलाई गुल्सनका साथै बहिनी र भाइको रेखदेख गर्ने जिम्मेवारी पनि छ। इँटाभट्टाको कामले बुबालाई व्यस्त बनाउँछ। गृहिणी आमाले उनको धेरै इच्छा पूरा गर्ने प्रयत्न गरिरहन्छिन्।

त्यही सम्मानलाई अवसरका रुपमा बदलेर ८ कक्षाबाटै पढाई छोडेर क्रिकेटमा होमिए गुल्सन। ‘सानैबाट क्रिकेटको सौखिन भएकाले धेरै पढाइभन्दा बढी चासो क्रिकेटकै छ। कक्षा ८ पढेर स्कुल छोडेँ,’ उनले भने।

पढ्नै पर्छ भन्ने समाजमा उनी खेल्नतिर स्वतन्त्र भए। छिमेकी देश भारतमा क्रिकेट सिक्न गए। त्यहाँ उनले रन्जी ट्रफी खेलिसकेकाहरूबाट २०१७ यता क्रिकेट सिक्छन्।

‘परिवारको सहयोग भएर नै म यहाँसम्म आएको हुँ। क्रिकेटमा टिकेको हुँ। पछिल्लो खेलबाट मैले केही आम्दानी पनि गर्न सकेकाले बुबाममी खुसी हुनुभएको छ,’ सर्लाही घरबाट उनले फोनमा भने।

परिवार मात्र होइन, उनलाई साथीभाइको हौसला प्यारो लाग्छ। उनलाई दाई, मामाहरुले पनि प्रेरणा भरेका छन्। उनले भने, ‘अस्ति पिएम कप फाइनलमा चार विकेट लिएर घर पुगेपछि पनि बुवाले हौसला दिँदै अझै धेरै गर्नुपर्छ भन्नुभएको छ। चित्त बुझाएर बस्नुको साटो अझै राम्रो गर्नुपर्छ भन्ने मेरो विश्वास छ।’

यसबाहेक उनलाई टिमका सिरिनयरहरूले पनि पूर्ण रूपमा सपोर्ट गर्छन्। ‘मैले कुनै बेला नराम्रो बल फ्यालेँ भने पनि अर्कोपल्ट राम्रो फाल्नु भनेर उत्साह जगाइदिनु हुन्छ,’ उनले भने।

एकेडेमीमा भन्दा राष्ट्रियस्तरको खेलमा माहोल फरक हुन्छ। तर त्यसमा खेल्दा सनियर खेलाडीको प्रेरणा निकै महत्वपूर्ण हुने उनको अनुभव छ।

खेल्दै सिक्दै गुल्सनलाई बलिङका तीन विधाको ज्ञान छ – स्लोवर, कटर र बाउन्सर। ‘अझै धेरै सिक्नु छ। मलाई योर्कर राम्रो आउँदैन। त्यसका लागि काम गर्नुपर्ने छ,’ उनले भने, ‘मलाई पूर्वकप्तान पारस खड्का मन पर्छ। बलिङमा सोमपाल कामी मनपर्छ। अन्तराष्ट्रियमा चाहिँ अस्ट्रेलियाको पट कमिन्स। उनीहरूको खेल हेरेर मैले निकै सिकेको छु।’

स्थानीय प्रतियोगिता जितेपछि खुसीयाली मनाउँदै गुल्सन।

फिटनेस मेन्टेन गर्न उनलाई प्रशिक्षकको सुझाव छ। ब्याटिङमा अभ्यास गर्न पनि प्रशिक्षकले सुझाएका छन्। ‘ब्याटिङमा पनि राम्रो गर्नुपर्ने छ। अहिले रेस्ट गरिरहेको भएकाले अभ्यास कमै गरेको छु। अब ब्याटिङमा पनि ध्यान दिन्छु,’ उनले भने।

छुट्यो एसपिएल

मेयर कपको सफलतापछि उनलाई सप्तरी प्रिमियर लिगमा आफ्नो कन्सिस्टेन्सी देखाउने अवसर थियो। अक्सनमा सहभागी भएर छनोट भइसकेका पनि थिए। तर चिकित्सकले ढाडको उपचार गराउन भनेपछि उनले खेल्न पाएनन्।

‘एसपिएल खेल्ने त मन थियो। तर मेरो ब्याकपेन भएपछि इन्डियामा जँचाउन जानुपर्यो,’ उनले भने, ‘त्यसैले एकेडेमी गएको छैन। घरमै आराम गरिरहेको छु। ठूलो समस्या केही छैन। उपचार पाएपछि ठिक छु।’

उपचारपछि उनले दुई टी–२० खेलिसकेका छन्। ‘अहिले कडा अभ्यास गरेको छैन। जगिङ गरिरहेको छु। अहिले गेम नभएकाले पुलिसमा पनि कुनै अभ्यास भइरहेको छैन,’ उनले दैनिकी सुनाए।

तर एसपिएल खेल्न नपाउँदाको पीडा भने उनलाई आलै छ। उनी सुनाउँछन्, ‘एसपिएल छोड्नुपर्दा निकै रमाइलो लाग्यो। त्यहाँ खेलेको भए एउटा थप अनुभव हुने थियो। राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता थियो। त्यो निकै मिस भइरहेको छ।’

मेयर्स कपपछि उनको फिटनेसमा केहि समस्या देखिएको थियो । तर त्यसबाट बाहिर निस्किएर उनले आफुलाई फिट बनाए । ओमान सिरिज हुने तय भएपछि क्यानले पहिलो चरणमा २० खेलाडी बोलाउँदा गुलसनको नाम भने थिएन । तर यहि विचमा पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिने निर्णय गरे । त्यसपछि गुलसनको राष्ट्रिय टिमको बाटो खोल्यो । प्रशिक्षक डेभ ह्वाटमोरले उनलाई पहिलो पटक सिनियर टिमको क्याम्पमा राख्ने निर्णय गरेपछि क्यानले दोस्रो चरणको सूचीमा गुलसनलाई बोलायो ।

पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा यति चाँडो पर्नु उनी आफैका लागि पनि सरप्राइज थियो । किनकी उनी आफैले यति चाँडो राष्ट्रिय टिमको क्याम्पमा परिएला भनेर सोचेका थिएनन् । तर उनमा आत्मविश्वास भने थियो ।

तर त्यो भन्दापनि ठूलो कुरा, उनी पहिलो पटक सिनियर टिमको क्याम्पमा पर्दा पहिलो पटक नै राष्ट्रिय टिममा पर्न सफल भए । त्यसमा अर्को कुरा यो पटक ओमान भ्रमणमा १७ खेलाडी जान पाउने भएकाले पनि उनको बाटो खुलेको हो । क्याम्पमा राम्रो गर्दै आएका कमलसिंह ऐरी टिममा नपर्दा गुलसनलाई टिमले नयाँ अवसर र मौका दिएको छ । जुन उनका लागि प्रमाणित गर्ने निकै राम्रो मौका हो । त्यो उनलेपनि बुझेका छन । तर उनी सुरुवाती ११ मा पर्न सक्छन वा सक्दैनन् भन्ने ठूलो प्रश्न छ ।

नेपालले त्रिकोणात्मक सिरिज अगाडी पीएनजीसँग दुई वटा मैत्रीपुर्ण खेल खेल्दैछ । ती दुई खेलमा प्रशिक्षकले उनलाई प्रयोग गर्न सक्ने संभावना भने छ । तर त्यसका लागि पनि उनले करण केसी, सोमपाल कामी र अविनाश बोहरासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । ब्याटिङका कारण सोमपाल र करणले नियमित टिममा स्थान बनाउने लगभग पक्का छ । तर उनको मुख्य प्रतिस्पर्धा डेथ ओभर स्पेसियलिष्ट मानिने अभिनाशसँग हुनेछ । हुन त गुलसनले पनि ब्याटिङमा हार्डहिट गर्न सक्छन ।

उमेर मात्र १७ बर्ष पुगेका गुल्सनले छोटो समयमा नै बनाएको राष्ट्रिय टिमसम्मको यात्रा परिको कथा जस्तै बनेको छ । तर अब उनी आफैलाई यो टिममा नियमित पर्ने र कसरी राम्रो गर्ने भन्ने चुनौती पनि थपिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest