रोहितको सानदार ब्याटिङ, पपुवा न्युगिनीलाई २३४ रनको लक्ष्य

पपुवा न्युगिनीलाई दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले २३४ रनको लक्ष्य दिएको छ ।

ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको ३ बल बाँकी छदै सवै विकेट गुमाएर २३३ रन बनायो । नेपालको धरमराएको पारिलाई रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र करण केसीले उकासेका थिए । रोहितले ८६ रन बनाउँदा मल्लले ४५ र केसीले ४२ रन बनाएका थिए ।

नेपालका लागि आशिफ शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए । टिमको स्कोर ६ रन भएका बेला नेपालले पहिलो विकेट आशिफ शेखको गुमाएको थियो । शेख व्यक्तिगत ३ रन बनाएर आउट भएका थिए । त्यसपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङ गर्न आएका थिए ।

तर टिमको स्कोर ९ रन भएका बेला अर्का ओपनर कुशल भुर्तेल पनि व्यक्तिगत ३ रनमा पभेलियन फर्किए पछि नेपाली टिम शुरुमै दबाबमा आएको थियो । त्यसपछि क्रिजमा आएका रोहित पौडेल र कप्तान मल्लले सम्हालिएर प्रदर्शन गरेका थिए । फलस्वरुप नेपालले अहिलेसम्म एक दिवसीय क्रिकेटमा बनाएको सर्वाधिक रनको साझेदारी पनि यी दुई खेलाडीले आफ्नो नाममा सार्न सफल भए । मल्ल र पौडेलले तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । यो नै नेपालका ब्याट्सम्यानले एक दिवसीय क्रिकेटमा गरेको अहिलेसम्मकै धेरै साझेदारी पनि हो ।

कप्तान मल्ल टिमको स्कोर ९८ रन भएका बेला आउट हुन पुगेका थिए । मल्ल व्यक्तिगत ४५ रन बनाएर पभेलियन फर्किएका थिए । उनले ७० बल फेस गर्दा २ छक्का र ३ चौका प्रहार गरेका थिए । त्यसपछि नेपालले चौथो विकेट १३९ रनमा गुमाएको थियो । चौथो विकेटको रुपमा विनोद भण्डारी रन आउट हुन पुगे । उनी व्यक्तिगत १७ रन बनाएर आउट हुँदा ३६ बल फेस गरेका थिए । लगत्तै कुशल मल्ल १ रन जोडेर आउट भएका थिए । सोमपाल कामी पनि धेरै बेर टिक्न सकेनन् । सोमपाल ११ रन जोडेर आउट हुँदा नेपालको स्कोर ६–१६६ रन भएको थियो ।

त्यसपछि क्रिजमा आएका करण केसी र रोहित पौडेलले नेपालको पारि अघि बढाउँदै २०० प्लस बनाएका थिए । सातौं विकेटको रुपमा करण केसी ४२ रन जोडेर आउट भए । उनले २६ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै आक्रामक पारि खेलेका थिए । लगत्तै रोहित पौडेल पनि आउट भएपछि नेपालले आठौं विकेट गुमाएको थियो ।

रोहित पौडेलले आज ८६ रन जोड्दा १२३ बल फेस गरेका थिए । उनले ३ छक्का र २ चौका प्रहार गरे । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको सर्वाधिक व्यक्तिगत स्कोर हो।

बिक्रम सोब १ रन बनाएर आउट हुँदा अन्तिम विकेटको रुपमा सन्दीप लामिछाने पहिलो बलमै रनआउट भए र नेपाल २३३ रनमा रोकिन पुग्यो ।

पीएनजीका लागि चाड सोपरले सर्वाधिक ३ विकेट लिँदा कबुवा मरेरा र नोरमान भानुवाले समान दुई-दुई विकेट लिए । नेपालले मंगलबारको पहिलो खेल २ विकेटले जितेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest