अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय टिममा गुल्शनको डेब्यु

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाली टिममा एक नयाँ अनुहारले डेब्यु गरेका छन । मात्र दुई वटा घरेलु खेल खेलेका गुल्सन झा नेपालका लागि एकदिवसिय क्रिकेटमा डेब्यु गर्ने २७ औं खेलाडी बनेका छन ।

मेयर कपमा नेपाल पुलिस क्लवबाट मात्र दुई खेल खेलेर सिनियर टिमको क्याम्पमा परेका गुल्सनले अमेरिकाविरुद्धको खेलमा डेब्यु गरेका हुन । नेपाली टिमका युवा तिब्रगतिका बलर गुल्सनले अमेरिकाविरुद्धको खेलमा बिक्रम सोबको स्थानमा टिममा स्थान बनाएका हुन ।

सोमपाल कामी, करण केसी, विक्रम सोब, अभिनाश बोहरा टिममा हुँदै गर्दा गुल्सनले आफ्नो सिनियर टिमको यात्रालाई सुरु गरेका छन ।

गुल्सनको राष्ट्रिय टिमको यात्रा
मेयर्स कप भन्दा केहि महिना अगाडी भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा उनी प्रदेश २ बाट खेल्ने प्रयास गरेका थिए । तर त्यो बेला छनोटकर्ताको आँखामा नपरेपछि उनी नेक्सस क्रिकेट एकेडेमीमा छात्रबृति पाए । दुई साता सो एकेडेमीमा अभ्यास गरेर उनलाई पुलिसका प्रशिक्षक मनोज कटवालले उनलाई ट्रयाल दिएर टिममा राख्ने निर्णय गरे । उनको ट्रायल लिँदा उनले प्रशिक्षकलाई निकै प्रभाव पारेका थिए । प्रधानमन्त्री कप क्रिकेट खेल्न नपाउँदा निकै खल्लो महसुस गरेका गुलसनले आफुले आफुलाई शान्त्वना दिए । प्रदेश २ बाट रिजर्भ खेलाडीमा परेका उनी १५ जनामा भने परेका थिएनन् ।

पुलिस टिमबाट सोहि प्रतियोगितामा डेब्यु गरेका झाले खेलेको पहिलो खेलमा मेयर ११ विरुद्ध विकेट नलिएपनि उनको बलिङको राम्रो चर्चा भयो । पहिलो खेलमा नै किफायती बलिङ गर्दै ६ ओभरमा एक मेडेन राखेर मात्र २२ रन खर्चिए । उनको बलको गति र बाउन्सका कारण उनले पहिलो खेलमा नै ध्यान केन्द्रित गर्न सफल भए । पुलिसका प्रशिक्षक मनोज कटवालले उनमा देखेको क्षमतालाई मध्यनजर गरेर टिमले एपीएफविरुद्धको फाइनल खेलमा पनि अर्को मौका दिए ।

त्यो अवसरलाई झाले भरपुर रुपमा सदुपयोग गरे । उनले एपीएफविरुद्ध सात ओभर बलिङ गर्दै ३६ रन दिएर चार विकेट लिए । कीर्तिपुरको पिचमा झाले एपीएफको शिर्ष अडरका ब्याट्सम्यानलाई सस्तैमा पेभेलियन फर्काए । उनले ओपनर शंकर राना, कप्तान शरद भेषवाकर, भुवन कार्कीले आउट गरे भने कमलसिंह ऐरीलाई पनि पेभेलियनको बाटो देखाए ।

एक सय ४० को हाराहारीमा बल फाल्न सक्ने झाले दुई खेलमा देखाएको प्रदर्शनले राम्रो चर्चा कमाउन सफल भए । अग्लो कद र लामो रनअप लिएर बलिङ गर्ने झाले नेपालको राष्ट्रिय प्रतियोगिता खेलेको नै यो पहिलो पटक थियो । यसअघि प्रधानमन्त्री कपमा प्रदेश दुई टिमका लागि ट्रायल दिएपनि टिममा पर्न सकेनन् । तर उनको बलिङको शैली र लाइनलेन्थलाई प्रदेश दुई क्रिकेटको केहि पदाधिकारीले ध्यान दिएका थिए ।

पीएम कपमा उनलाई टिममा नपरेपनि विरगञ्जका प्रशिक्षक प्रकाश शर्माले पुलिस टिमलाई झामा राम्रो संभावना रहेको र यसको प्रदर्शन हेर्न भनेर भनेका थिए । त्यसमा पुलिसका प्रशिक्षक मनोज कटवालले मुलपानी मैदानमा पीएम कपका बेला नै बलिङ गर्न भने । त्यसमा उनले चार पाँच बल फालेपछि पनि नै कटवालले झा लाई अहिले टिममा नभएपनि मेयर्स कपका बेला अवश्य पुलिस टिममा पर्ने र अरु टिमबाट नखेल्न आग्रह गरे ।

जसमा उनको शैलीलाई कटवालले पनि मन पराएपछि पुलिस टिममा मेयर्स कप प्रतियोगिताका लागि राख्ने निधो गरे । टिममा राम्रो बलरको आवश्यकता र खेलाडीको चोटको समस्याले गुल्सनले पुलिसबाट मेयर ११ विरुद्धको खेलमा डेब्यु गर्ने मौका पाए । उनलाई पुलिस टिमले आफ्ना तिब्रगतिका बलर रासिद खानको स्थानमा मेयर ११ विरुद्ध टिममा राखे ।

झा परिवारमा गुल्सन जेठा छोरा हुन्। उनका बुवा अखिलेश झा र आमा अन्जु देवीलाई गुल्सनका साथै बहिनी र भाइको रेखदेख गर्ने जिम्मेवारी पनि छ। इँटाभट्टाको कामले बुबालाई व्यस्त बनाउँछ। गृहिणी आमाले उनको धेरै इच्छा पूरा गर्ने प्रयत्न गरिरहन्छिन्। त्यही सम्मानलाई अवसरका रुपमा बदलेर ८ कक्षाबाटै पढाई छोडेर क्रिकेटमा होमिए गुल्सन। पढ्नै पर्छ भन्ने समाजमा उनी खेल्नतिर स्वतन्त्र भए। छिमेकी देश भारतमा क्रिकेट सिक्न गए। त्यहाँ उनले रन्जी ट्रफी खेलिसकेकाहरूबाट २०१७ यता क्रिकेट सिक्छन्। उनी राँचीको एक एकेडेमीमा बसेर उनले क्रिकेटको सिप सिखे, त्यसमा आफुलाई तिब्रगतिको बलर बनाए ।
गुल्सनलाई बलिङका तीन विधाको ज्ञान छ(स्लोवर, कटर र बाउन्सर। गुल्सनले बाउन्सर राम्रो फाल्ने भएपनि योर्करका लागि बिचमा मेहेनत गरेका थिए । मेयर कपको सफलतापछि उनलाई सप्तरी प्रिमियर लिगमा आफ्नो कन्सिस्टेन्सी देखाउने अवसर थियो। अक्सनमा सहभागी भएर छनोट भइसकेका पनि थिए। तर चिकित्सकले ढाडको उपचार गराउन भनेपछि उनले खेल्न पाएनन्।

मेयर्स कपपछि उनको फिटनेसमा केहि समस्या देखिएको थियो । तर त्यसबाट बाहिर निस्किएर उनले आफुलाई फिट बनाए । ओमान सिरिज हुने तय भएपछि क्यानले पहिलो चरणमा २० खेलाडी बोलाउँदा गुलसनको नाम भने थिएन । तर यहि विचमा पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिने निर्णय गरे । त्यसपछि गुलसनको राष्ट्रिय टिमको बाटो खोल्यो । प्रशिक्षक डेभ ह्वाटमोरले उनलाई पहिलो पटक सिनियर टिमको क्याम्पमा राख्ने निर्णय गरेपछि क्यानले दोस्रो चरणको सूचीमा गुलसनलाई बोलायो ।

पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा यति चाँडो पर्नु उनी आफैका लागि पनि सरप्राइज थियो । किनकी उनी आफैले यति चाँडो राष्ट्रिय टिमको क्याम्पमा परिएला भनेर सोचेका थिएनन् । तर उनमा आत्मविश्वास भने थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest