आइपीएल-२०२१ को फाइनलमा आज तीन चोटी च्याम्पियन रहिसकेको चेन्नाई सुपर किंग्स र दुई पटक च्याम्पियन भइसकेको कोलकत्ता नाइट राइर्डस भिड्दैछन् ।
चेन्नाई चौथो आइपीएल फाइनलका लागि मैदान उत्रिनेछ भने कोलकत्ता तेस्रो उपाधिका लागि तयार छ। कोलकत्ताले आजसम्म फाइनल पुग्दा हार ब्यहोर्नुपरेको छैन ।
चेन्नाईले आइपीएलका १२ सिजन खेल्दा ९ पटक फाइनलमा स्थान बनाएको छ । २०१०, २०११ र २०१८ मा उसले उपाधि नै जितेको छ ।
यता कोलकत्ताले गौतम गम्भीरको कप्तानीमा २०१२ र २०१४ मा आइपीएलको उपाधि जितेको थियो । २०१२ मा चेन्नाईलाई नै फाइनलमा हराएर कोलकत्ताले पहिलो आइपीएल उपाधि जितेको थियो । र यसपटक दोस्रो पटक यी टोली उपाधिका लागि आमने सामने हुन लागेका हुन् ।
यो खेल चेन्नाईका कप्तान महेन्द्रसिंह धोनीका लागि विशेष छ । उनले आफ्नो कप्तानीमा ३०० औं टी-२० खेल पूरा गर्नेछन् । हालसम्म यति टी-२० खेलमा कप्तानी गर्ने धोनी एक्ला खेलाडी हुन् ।
धोनीको कप्तानीमा चेन्नाई ९ औं पटक फाइनल खेल्दैछ । यो पनि आफैमा कीर्तिमान हो । अघिल्लो वर्षमात्रै धोनीको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । धोनीको कप्तानीमा भारतले २००७ मा टी-२० विश्वकप र २०११ मा एक दिवसीय विश्वकप जितेको थियो ।