आईसीसी टी–२० विश्वकप क्रिकेटमा ओमानले सानदार सुरुवात गरेको छ ।
ओमानको अल अमारतमा क्रिकेट स्टेडियम आइतबार भएको उद्घाटन खेलमा ओमानले पपुवा न्यूगिनीलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गर्यो ।
पीएनजीले दिएको १ सय ३० रनको लक्ष्य ओमानले विना विकेटको क्षतिमा १३.४ ओभरमै भेट्टाएको थियो ।
ओमानका जितेन्द्र सिंहले ७३ र एकिब इलासले ५० रनको नटआउट पारी खेल्दै टोलीलाई जित दिलाए । सिंहले ४२ बलमा ७ चौका र ४ छक्का प्रहार गरे ।
त्यसअघि कप्तान असाद भालाले अर्धशतकीय पारी खेलेपछि पपुवा न्युगिनी (पीएनजी)ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।
पीएनजीका लागि भालाले ५६ रनको अर्धशतकीय पारी खेले । ४३ बलमा उनले उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै पीएनजीका कार्लेस अमिनीले ३७ रन, सेसे बाउले १३ रनबाहेक अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ ओमानका लागि जजेसन मक्सोदले सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा उनले २० रन खर्चे । त्यस्तै बिलाल खान र कलिमउल्लाले समान दुई–दुई विकेट लिए ।
युएई र ओमानमा आज(आइतबार)देखि आईसीसी टी-२० विश्वकप क्रिकेट सुरु हुँदैछ । आइतबारबाट सुरु हुने विश्वकप कोरोना महामारीका कारण भारतबाट प्रतियोगिता यूएई र ओमानमा सारिएको हो ।
अब आजै हुने दोस्रो खेलमा केहीबेरमा बंगलादेश र स्कटल्याण्डबीच अल अमारत क्रिकेट मैदानमा नै हुनेछ । उक्त खेलमा ७:४५ बजेबाट सुरु हुनेछ ।
विश्वकप नोभेम्बर १४ सम्म चल्नेछ । वेष्ट इन्डिजले २०१६ मा अन्तिम संस्करण जितेपछि ५ वर्षपछि अर्को टी-२० विश्वकप हुन लागेको हो । यसबीच कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन ।
यस संस्करणको आयोजक आइसीसी आफै हो तर खेलहरु यूएई र ओमानमा खेलहरु हुनेछन् । यसअघि भारतमा प्रतियोगिता हुने भनिएको थियो तर कोरोना महामारीका कारण भारतबाट प्रतियोगिता यूएई र ओमानमा सारिएको हो ।
फर्म्याट
प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता दुई राउण्डमा खेलाइनेछ । पहिलो राउण्डमा ८ टोली हुनेछन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए : श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया
समूह बी : बंगलादेश, स्कटल्याण्ड, पपुवा न्यू गिनी, ओमान
समूहमा सबै टोलीले एक अर्कासँग खेलेपछि दुवै समूहका शीर्ष २ टोली अर्को राउण्डमा प्रवेश गर्नेछन् । जसलाई सुपर १२ भनिन्छ । जहाँ शीर्ष वरियताका टी-२० टोलीहरु छन् । सुपर १२ मा पनि दुई समूहमा टोलीहरुलाई बाडिनेछ ।
समूह ए : इंग्ल्याण्ड, अष्ट्रेलिया, साउथ अफ्रिका, वेष्ट इण्डिज, पहिलो राउण्डका दुई टोली (A1 र B2)
समूह बी : भारत, पाकिस्तान, न्यूजिल्याण्ड, अफगानिस्तान, पहिलो राउण्डका दुई टोली (B1 र A2)
फेरि, यी टोलीहरुले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।