टी-२० विश्वकप: स्कटल्याण्डको सानदार प्रदर्शन, बंगलादेश स्तब्ध

क्रिस ग्रिब्सको अलराउण्डर प्रदर्शन मद्दतमा स्कटल्याण्डले युएई र ओमानमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको छ ।

आइतबार राति ओमानको अल अमारत स्टेडियममा स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेश २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रनमै रोकियो ।

बंगलादेशका मुस्फिकर रहिमले ३८, शकिब अल हसन २०, कप्तान महमुदउल्लाहले २३, अफिफ होसेनले १८ र  मेहदी हसन १३ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन ।

स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए ।

यसअघि ओपनर ब्याट्सम्यान जर्ज मंजीले २९ रनको पारी खेलेपनि एक समय स्कटल्याण्डले ५३ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो ।

स्कटल्याण्डका क्रिस ग्रिभ्सले ४५ रन जोड्दै टोलीलाई उकासे । उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

यस्तै जर्ज मुन्सेले २९ रन, मार्क वाटले २२ र माथ्यु क्रस ११ रन थपे । बंगलादेशका मेहदी हसनले ३, मुस्ताफिजुर रहमान र शकिब अल हसनले २/२ विकेट लिए ।

त्यसअघि आईसीसी टी–२० विश्वकप क्रिकेटमा ओमानले सानदार सुरुवात गरेको थियो ।

ओमानको अल अमारतमा क्रिकेट स्टेडियम आइतबार भएको उद्घाटन खेलमा ओमानले पपुवा न्यूगिनीलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गर्‍यो ।

पीएनजीले दिएको १ सय ३० रनको लक्ष्य ओमानले विना विकेटको क्षतिमा १३.४ ओभरमै भेट्टाएको थियो ।

प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता दुई राउण्डमा खेलाइनेछ । पहिलो राउण्डमा ८ टोली हुनेछन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए : श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया
समूह बी : बंगलादेश, स्कटल्याण्ड, पपुवा न्यू गिनी, ओमान

समूहमा सबै टोलीले एक अर्कासँग खेलेपछि दुवै समूहका शीर्ष २ टोली अर्को राउण्डमा प्रवेश गर्नेछन् । जसलाई सुपर १२ भनिन्छ । जहाँ शीर्ष वरियताका टी-२० टोलीहरु छन् । सुपर १२ मा पनि दुई समूहमा टोलीहरुलाई बाडिनेछ ।

समूह ए : इंग्ल्याण्ड, अष्ट्रेलिया, साउथ अफ्रिका, वेष्ट इण्डिज, पहिलो राउण्डका दुई टोली (A1 र B2)
समूह बी : भारत, पाकिस्तान, न्यूजिल्याण्ड, अफगानिस्तान, पहिलो राउण्डका दुई टोली (B1 र A2)

फेरि, यी टोलीहरुले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest