टी–२० विश्वकपको पहिलो दिन स्कटल्याण्डले टेस्ट राष्ट्र बंगलादेशलाई स्तब्ध पार्दै सनसनी मच्चायो ।
क्रिस ग्रिब्सको अलराउण्डर प्रदर्शन मद्दतमा स्कटल्याण्डले युएई र ओमानमा जारी विश्वकप क्रिकेटको पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले स्तब्ध पारेको हो ।
आइतबार राति ओमानको अल अमारत स्टेडियममा स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेश २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रनमै रोकियो ।
स्कटल्याण्डको जितको हिरो थिए, क्रिस ग्रिब्स । उनको संघर्षको कथा सार्वजनिक भएपछि भने चारैतिर उनको प्रशंशा भइरहेको छ ।
स्कटल्याण्डका कप्तान कायल कोल्टजरले खेलपछि उनको यात्राबारे बताएका थिए । क्रिस अमेजनका लागि डेलिभरी ड्राइभर थिए । तर पनि क्रिकेटमा ध्यान केन्द्रीत गर्दै उनले उक्त जागिर छाडे ।
‘उनका लागि यो अविश्वमरणीय दिन हो । तर हामीलाई उनको क्षमता थाहा थियो,’ कप्तान कोल्टजरले भने, ‘उनीको समर्पणमाथि हावी गर्व गर्छौ । केही समय अघिमात्रै अमेजनका लागि उनी डेलिभरी गर्थे र आज खेलको म्यान अफ द म्याच भए ।’
क्रिसले बंगलादेशविरुद्ध २८ बलमा ४५ रन बनाए । जसमा ४ चौका र २ छक्का सामेल थिए । त्यसबाहेक उनले दुई विकेट पनि लिए । उनले बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसर र मुश्फिकुर रहिमको विकेट लिएका थिए ।
ग्रिब्सको यो दोस्रो अन्तर्राष्ट्रिय खेल समेत हो । जुन २०१९ मा उनी स्कटल्याण्डको ए टोलीमा छनोट भएका थिए । त्यही महिना उनले स्कटल्याण्डका लागि आयरल्याण्डविरुद्ध लिस्ट ए खेल खेले ।
अघिल्लो महिनामात्रै स्कटल्याण्डको टी–२० टोलीमा उनी छनोट भएका हुन् । लगत्तै उनले जिम्बाबेविरुद्धको शृंखला खेलेका थिए । पपुवा न्यूगिनीविरुद्ध यसै महिनाको ८ तारिखमा उनले पहिलो टी–२० खेल खेलेका थिए । बंगलादेशविरुद्धको आइतबारको खेल उनको टी–२० करिअरको दोस्रोमात्रै थियो । जहाँ उनले अविश्वमरणीय प्रदर्शन गरे ।