एक बल बाँकी छँदा अष्ट्रेलियाले न्यूजिल्याण्डमाथि हात पार्‍यो रोमाञ्चक जित

आइसीसी टि-२० विश्वकपको वार्मअप खेलमा एक बल बाँकी रहँदा अष्ट्रेलियाले न्यूजिल्याण्डमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

अष्ट्रेलियालाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँएको थियो । तीव्र गतिका बलर काइल जेमिसनलाई चौथो र पाँचौं बलमा जोश इंगलिसले लगातार चौका प्रहार गर्दै अष्ट्रेलिया जित पक्का गराएका हुन् ।

अष्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ३५ रन जोडे । ३० बलमा उनले ३ चौका प्रहार गरे । आरोन फिन्च र मिचेल मार्श २४–२४ रन थपेका थिए । मार्कस स्टोइनिसले २३ बलमा १ चौका र १ छक्का सहित २८ रन बनाए ।

न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनरले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ३ विकेट तथा ट्रेन्ट बोल्टले २, टिम साउथी र काइल जेमिसनले १–१ विकेट लिए ।

त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ३० बलमा ५ चौका सहित ३७ रन बनाए । यस्तै मार्टिन गुप्टिल ३०, ड्याल मिचेल ३३ र जेम्श निसमले ३१ रन बनाए ।

अष्ट्रेलिया केन रिचर्ड्सनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट तथा एडम जाम्पाले २, एश्टन अगर र मिचेल स्टार्कले १–१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest