कोहलीको अर्धशतकमा भारतले दियो पाकिस्तानलाई १५२ रनको लक्ष्य

कप्तान विराट कोहलीको अर्धशतक मद्दतमा भारतले टी २० विश्वकप अन्तर्गत जारी खेलमा पाकिस्तानलाई १५२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको हो ।

भारतका लागि कप्तान कोहलीले ५७ रनको पारी खेले । उनले ५० बलमा ५ चौका र एक छक्का प्रहार गरे ।

त्यसबाहेक भारतका ऋषभ पन्तले ३९ रन जोडे । ३० बलमामा उनले २ चौका र २ छक्का प्रहार गरे ।

पहिलो ओभरमा नै पाकिस्तानका साहिन शाह अफ्रिदीले भारतका रोहित शर्मालाई शुन्य रनमा एलबीडब्लुको सिकार पारे ।

यस्तै आफ्नो दोस्रो ओभरको पहिलो बलमा अफ्रिदीले नै केएल राहुललाई बोल्ड पारे । राहुलले ८ बलमा ३ रनमात्रै जोड्नसके ।

त्यसपछि क्रिजमा आएका सुर्यकुमार यादवलाई छैटौं ओभरको चौथो बलमा हसन अलिले विकेटकिपर मोहम्मद रिजवानको हातबाट क्याच गराए । यादवले ८ बलमा एक चौका र एक छक्कासहित ११ रन जोडे ।

त्यसपछि क्रिजमा आएका ऋषभ पन्तले आक्रामक पारी खेलेपछि भारतले स्कोर अघि बढाएको थियो । १३ औं ओभरमा सादाव खानले पन्तलाई क्याच एण्ड बोल्ड पारेपछि फेरि भारतको रनगती रोकियो ।

अर्को एन्डमा सम्हालिएर खेलेका विराट कोहलीले १८ औं ओभरको पहिलो बलमा दुई रन लिदै अर्धशतक पूरा गरे । उनले ४५ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन ।

१९ औं ओभरको चौथो बलमा अफ्रिदीले नै कोहलीलाई विकेटकिपर रिजवानको हातबाट क्याच गराए । कोहलीले ४९ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।

पाकिस्तानका साहिन साह अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै हसन अलीले २ तथा सादव खान र हरिस राउफले १–१ विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest