जब सिरिज खेल्दैनौं भन्ने न्यूजिल्याण्डलाई पाकिस्तानले विश्वकपबाटै जवाफ फर्कायो

टी-२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । सारजाहमा मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित हात पारेको हो ।

यसअघि पहिलो खेलमा भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले सनसनी मच्चाएको थियो । पाकिस्तानसँग पराजित न्यूजिल्याण्डको भने विश्वकपमा हारबाट सुरुवात भएको छ ।

योसँगै न्यूजिल्याण्डसँग पाकिस्तानले बदला समेत लिएको छ । विश्वकप सुरु हुनुअघि पाकिस्तानले न्यूजिल्याण्डलाई सिरिज खेल्ने प्रस्ताव गरेको थियो ।

तर न्यूजिल्याण्डले पाकिस्तानको उक्त प्रस्ताव स्वीकारेन् । त्यसबेला आफ्नो दुखेको घाउँमा मल्हम लगाउँदै पाकिस्तानले मंगलबार विश्वकपमै हराउँदै न्यूजिल्याण्डसँग बदला लिएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ तथा शोयब मलिक र आसिफ अलीले समान २७-२७ रन जोडे । यस्तै फखर जमान, मोहमद हाफिज र इमाद वासिम समान ११ रन थपे ।

न्युजिल्याण्डका इस सोधीले २ तथा मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टले १-१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्य्ल मिचेलले २७-२७ रन तथा कप्तान केन विलियम्सनले २५ जोडे ।

पाकिस्तानका हरिस राउफले ४ विकेट लिए । शहिन साह अफ्रिदी,इमाद वासिम र मोहमद हाफिजले १-१ विकेट लिए ।

जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा पुगेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest